६ महिना सेवाअवधि थप्न आईजीपी खनालको ‘लबिङ’

६ महिना सेवाअवधि थप्न आईजीपी खनालको ‘लबिङ’


काठमाडौं – नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि हटाउने चलखेल सुरु भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अवकाश मिति नजिकिँदै गर्दा ३० वर्षे सेवाअवधि हटाउन चलखेल सुरु भएको हो ।

आईजीपी खनालको ६ महिना सेवाअवधि थप्न चलखेल सुरु भएको गृहनिकट उच्च स्रोतले जनाकारी दियो । कार्यकाल थप्ने केही शक्तिकेन्द्रहरुमा कार्यकाल थप्न छलफलसमेत भइसकेको छ । आईजीपी खनालले सेवाअवधि ६ महिना थप्नका लागि गृहसचिवसँग मिलेर काम गरिरहेका छन् । आईजीपीको दौडमा रहेकाहरु ‘पावर’को हिसाबले कमजोर रहेका कारण सेवाअवधि थप्न खनालले जोड गरिरहेका छन् ।

अहिले आईजीपीको लाइनमा डीआईजी ठाकुर ज्ञवाली रहेका छन् । उनको प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेललगायत नेकपाका नेतासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । ज्ञवाली तत्कालिन सभामुख कृष्णबहादुर महरा निकट हुन् । महरा जेल परेपछि ज्ञवाली ‘पावरका’का हिसाबले कमजोर बनेपछि खनालले सेवाअवधि थप्नका लागि लबिङ गरेका हुन् ।

ब्याचका अन्यलाई अवकाश दिने र प्रहरी नियमावली संशोधन गरेर आईजीपीको हकमा कार्यकाल थप गर्न सकिन्छ । प्रहरीको अवकाशसम्बन्धी प्रावधान नियमावलीमा मात्र भएकाले क्याबिनेटले यस्तो निर्णय गर्नसक्छ । यद्यपि, सर्वाेच्च अदालतले अवकाशको उमेर, सेवाअवधिको विषय ऐनमै राख्न आदेश दिएको धेरै वर्ष बितिसकेको छ ।

ज्ञवाली आईजीपी भएमा असार २६ सम्म हुन्छन् । त्यसकारण अर्काे ब्याचलाई असर नपर्ने गरी ६ महिनाका लागि मात्र आईजीपीको कार्यकाल थप गर्न लबिङ भएको हो । यसका लागि महानिरीक्षक खनालले केही डिआईजीहरुसँग समेत छलफल गरेका छन् ।

उता ३० वर्षे सेवाअवधि हटाउने प्रयास पनि जारी छ । निजामतीमा अवकाशको उमेरहद ६० वर्ष बनाउन सहमति भएकाले प्रहरीको पनि सेवाअवधि यही बेला हटाउने लबिङ अघि बढेको छ । साथै एआईजी पुष्कर कार्कीलाई आईजीपी बनाउन पनि नेकपाकै एक समूहले लबिङ जारी राखेको छ ।