काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुने चेतावनी दिएका छन ।
प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुने बताएका हुन् ।
‘निलो बर्दीमा कालो दाग कसैले लगाउन हुन्न,’ खनालले चेतावनीको शैलीमा भने, ‘कसैले लगाए त्यो सह्य हुन्न ।’
उनले प्रहरीको इतिहास अध्ययन गरेर आगामी दिनमा अघि बढ्न समेत तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षकहरूसँग आग्रह गरे ।
राष्ट्र र जनताको सेवामा बफादार हुन उनले निर्देशन दिए । उनले पास आउट भएका प्रहरी निरीक्षकहरूलाई सफल व्यवसायिक जीवनको शुभकामना पनि दिए । शुक्रबार ९१ जना प्रहरी पास आउट भएका छन् ।
प्रतिक्रिया