एजेन्सी । आफ्ना मन्त्रीले विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छन् ।
केही दिनअघि एक रेडियो अन्तरवार्तामा इस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्मीले फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री मरिनलाई ’सेल्स गर्ल’ भनेका थिए ।
‘हामी देख्न सक्छौ कसरी एक सेल्स गर्ल प्रधानमन्त्री बन्छिन्’, हेल्मीले भने,’कसरी केही सडक अभियान्ताहरु र अन्य अशिक्षित व्यक्तिले उनको मन्त्रिपरिषदमा सामेल हुन्छन् ।’
मरिनको मन्त्रिपरिषदमा अधिकांश महिला मन्त्री छन् भने चार जनाको उमेर ३५ वर्षभन्दा कम छ । राष्ट्रपति कालजुलेडले हेल्मीका तर्फबाट माफी मागेकी हुन् । साथै उनले हेल्मीको भनाइले आफू लज्जित भएको बताएकी छन् ।
मरिनले ट्वीटरमा विश्वविद्यालय जानुअघि आफूले क्यासियरको काम गरेको लेखेकी थिइन् । सामान्य आर्थिक अवस्था भएका बच्चाले पनि फिनल्याण्डमा कसरी आफ्नो सपना पूरा गर्न सक्छन् भन्नेमा उनको ट्वीट केन्द्रीत थियो ।
सोही कुरालाई लिएर रूसका लागि पूर्वराजदूतसमेत रहेका हेल्मीले मरिनको खिल्ली उडाएका हुन् । तर अहिले उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । विपक्षी सांसदहरूले हेल्मीको राजीनामासमेत मागेका छन् ।
प्रतिक्रिया