झारखन्डमा मोदीलाई झट्का, गठबन्धन दलको अग्रता

झारखन्डमा मोदीलाई झट्का, गठबन्धन दलको अग्रता


एजेन्सी – भारतको झारखन्डमा ८१ सिटको विधानसभाका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । नोभेम्बर ३० देखि डिसेम्बर २० सम्म पाँच चरणमा भएको मतदानमा कुल ६५.२३ प्रतिशत मत खसेको थियो ।

जारी मतगणनामा काँग्रेससहित गठबन्धन दलको अग्रता रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी गठबन्धनको पछिपछि परेको छ । यहाँ बहुमतको लागि ४१ सिटको आवश्यकता पर्छ ।

यो समाचार तयार पार्दासम्म काँग्रेस गठबन्धनले ४२ स्थानमा आफ्नो अग्रता कायम गरेको छ भने भाजपा २८ स्थानमा अग्रस्थानमा रहेको छ । काँग्रेससँग झारखन्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलले गठबन्धन गरेको हो। भाजपाले कुनै दलसँग गठबन्धन गरेको छैन ।

विधान सभाको क्रममा मोदीकको दलले १८ स्थानमा चुनावी र्‍याली गरेका थिए भने राहुल गान्धीले ५ पटकमात्र चुनावी र्‍यालीमा भाग लिएका थिए ।

जारी नागरिकता कानुन विवादका कारण भाजपालाई चुनावमा क्षति पुग्न सक्ने विश्लेषण गरिएको छ । मोदी सरकारले ९ डिसेम्बरमा नागरिकता संशोधन विधेयक लोकसभामा पेश गरेको थियो । त्यसमात्र यहाँ ४८ सिटका लागि तीन चरणको मतदात भएको थियो ।