अपराधमा विदेशीको संलग्नता बढ्दो

अपराधमा विदेशीको संलग्नता बढ्दो


काठमाडौँ –  पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् ।पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै
गएको हो ।

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ । यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँंगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्री विदेशी नागरिकको क्रियाकलापमाथि निगरानी आवश्यक रहेको बताउनुभयो ।

कतिपयले टे«किङ (पदयात्रा) का नाममा निषेधित क्षेत्रको तस्बिर तथा भिडियो खिच्ने, जासुसी गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने र अश्लील क्रियाकलापलाई निरुत्साहित पार्न सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने उहाँको सुझाव छ । कारागार व्यवस्थापन विभागका अनुसार हाल सञ्चालनमा रहेका ७४ वटा कारागारमध्ये ३१ वटा कारागारमा एक हजार २६९ जना विदेशी नागरिक कैदीबन्दी छन् ।

अधिकांश कैदीबन्दी जघन्य अपराधअन्तर्गत ज्यान मार्ने उद्योग, अपहरण तथा हत्या, बलात्कार, लागूऔषध, मानव बेचविखन, दुर्लभ वन्यजन्तुको चोरी शिकारी, बालयौन दुराचार, सङ्गठित अपराधमा संलग्न छन् । सबैभन्दा बढी केन्द्रीय कारागार जगनाथदेवलमा २१४, ललितपुरको नख्खुस्थित कारागारमा ११३, पर्सामा २२५, झापामा १११, मकवानपुरको भीमफेदीमा ६३, झुम्का (सुनसरी) मा ८५ र मोरङमा ५९ जना विदेशी कैदीबन्दी रहेका छन् । याे समाचार गाेरखापत्रमा छ ।