स्थानीय जनप्रतिनिधिको तलब तोकियो

स्थानीय जनप्रतिनिधिको तलब तोकियो


हेटौँडा –प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता दुई हजार तोकिएको छ भने विदेश जांदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ ।

उपप्रमुखले ४० हजार र वडाध्यक्षले २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यस्तै उपमहानगरका प्रमुखले ४० हजार दुई सय र उपप्रमुखले ३५ हजार तलब पाउनेछन् । भने वडाध्यक्षले २५ हजार पाउनेछन् । त्यस्तै, नगरपालिकाका प्रमुखले ३५ हजार, उपप्रमुखले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् ।

गाउंपालिकाका अध्यक्षले ३१ हजार, उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउने विधेयकमा उल्लेख छ । यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार दुई सय पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जांदा दैनिक भत्ता पनि पाउने जनाएको छ ।