आज ४ बजे मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रालय थप्न कुन–कुन फुटाइयो ?

आज ४ बजे मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रालय थप्न कुन–कुन फुटाइयो ?


काठमाडौं –प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ४ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्। आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ।

कुन–कुन मन्त्रालय फुटाइयो

स्रोतका अनुसार यसअघि ३० ओटा मन्त्रालयलाई १७ मा झारेका प्रधानमन्त्री ओलीले त्यसलाई फुटाएर तीन मन्त्रालय थपेका हुन् । थपिएका मन्त्रालयमा सिँचाई, श्रम तथा रोजगार र युवा तथा खेलकुद छन् ।

शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालयलाई फुटाइएको हो । अब शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छुट्टाछुट्टै हुनेछन् । यस्तै श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाएर श्रम तथा रोजगार र महिला तथा बालबालिकालाई अलग–अलग मन्त्रालय बनाइएको छ ।

एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेका छन्।
एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी र रघुवीर महासेठको नाम टुंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लगिसकेको छैन।

माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ। माओवादीबाट गिरीराजमणि पोरखेलले शिक्षा र वर्षमान पुनले उर्जा मन्त्रालय सम्हाल्ने टुंगो भए पनि अरुको मन्त्रालय टुंगिन बाँकी छ।यस्तै संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्। उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ।