काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिदै छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए । गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ ।
एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री
एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ । ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्नेछन् । काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।
यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
माओवादीबाट पाँच मन्त्री
माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् । माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए ।
गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ ।
फोरम आज सरकारमा नजाने
आज गर्ने मन्त्रिपरिषद् विस्तारमा संघीय समाजवादी फोरम सामेल नहुने भएको छ । प्रधानमन्त्री ओलीले आज ४ गर्ने भनेको मन्त्रिपरिषद् विस्तारमा संघीय समाजवादी फोरम सामेल हुने चर्चा भए पनि फोरमले मन्त्री नपठाउने भएको हो।
फोरमका एक नेताले भने, ‘हामी पार्टी कार्यालयमै छौं, अहिलेसम्म कुनै ठोस कुरा आएको छैन। सरकारमा जाने सैद्धान्तिक सहमति भइसकेको हो तर मुद्दाको विषय अझै टुंगो लागेको छैन।’
प्रतिक्रिया