स्टकहोम – अघिल्लो वर्ष विश्वव्यापी हतियार उद्योगको कुल बिक्रीमा ४.६ प्रतिशतको वृद्धि भएको स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्सटिच्यूट (सीप्रि) ले जनाएको छ ।
ठूला १०० हतियार कम्पनीहरुले २०१८ मा ४२० अर्ब डलरको हतियार र सैन्य सेवामा बिक्री गरेका थिए । यसको ठूला पाँच कम्पनीहरु सबै अमेरिकाका रहेको सीप्रिले विज्ञप्तिमार्फत जनाएको छ ।
लकहिड मार्टिन, बोइङ, नरथ्रोप ग्रुमान, रेथियोन र जनरल डाइनामिक्सले १४८ अर्ब डलरको बिक्री गरेका छन् । यो कुलको ३५ प्रतिशत हो । समग्रमा अमेरिकी कम्पनीहरुले कुलको ५९ प्रतिशत बिक्री गरेका छन् ।
सीप्रिको उत्कृष्ट १०० को सूचीमा कम्पनीहरुले गरेको विश्वव्यापी हतियार बिक्रीमा २००२ देखि ४७ प्रतिशतले वृद्धि भएको छ । उक्त वर्षदेखि सीप्रिले तथ्यांक राख्न सुरु गरेको थियो । यसमा विश्वसनीय तथ्यांकको अभावमा चिनियाँ हतियार कम्पनीहरुलाई समावेश गरिएको छैन ।
रुसी कम्पनीहरुले गरेको बिक्री वार्षिक मापनका आधारमा स्थिर रहेको छ । रुसी कम्पनीहरुल कुल ३६.२ अर्ब डलरको कुल बिक्री गरेका छन् । यो विश्वको कुलको ८.६ प्रतिशत हो । देशकै ठूलो हतियार उत्पादक अल्माज एन्टेको बिक्रीमा १८ प्रतिशतको वृद्धि भएको छ ।
‘यो बलियो घरेलु मागमा भएको वृद्धिका कारण होइन । अन्य मुलुकमा गरिएको बिक्रीमा लगातार वृद्धि भएको छ । विशेषगरी एस–४०० हवाई रक्षा प्रणालीको बिक्री वृद्धिका कारण यसो हुन गएको हो,’ सीप्रिका अनुसन्धानकर्मी अलेक्जान्ड्रा कुइमोभाले बताए ।
युरोपको सर्वाधिक ठूलो हतियार उत्पादक मुलुकम बेलायत रहेको छ । तर बेलायती कम्पनीहरुले गरेको बिक्रीमा ४.८ प्रतिशतले गिरावट आएर ३५.१ अर्ब डलर कायम भएको छ ।
युरोपमा दोस्रो बढी हतियार उत्पादक मुलुकमा फ्रान्स रहेको छ । यो मुलुकले २३.२ अर्ब डलरको हतियार बिक्री गरेको छ ।
समग्र वृद्धिलाई डासाउल्ट एभिएसन ग्रुपको बिक्रीमा भएको तीव्र बिक्रीले डो¥याएको छ । जर्मन हतियार उत्पादनमा ३.८ प्रतिशतले गिरावट आएर ८.४ अर्ब डलर कायम भएको छ ।
प्रतिक्रिया