चालक र सहचालकको पहिचान पातलो ज्याकेटबाट

चालक र सहचालकको पहिचान पातलो ज्याकेटबाट


काठमाडौँ – रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् ।

रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको पहिचान झल्कने बताए । “पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ,”– उनले भने “चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रंगको ज्याकेटको व्यवस्था गरिएको छ ।

रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले पोशाक लगाउँदै । चालक तथा सहचालकले पोशाक लगाएपछि सबैले सहजै चिन्न सक्ने भएकोले शुक्रबारदेखि पोशाक लगाएका हुन । तस्वीर : नवीन पौडेल, रासस

सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्छन्, “नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोशाकले सहज हुन्छ,” यी केबल प्रतिनिधि पात्र मात्र हुन् । शुक्रबार रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको हो ।

ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निरत्न नेवा पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताए । “पोशाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ,”उनले भने । हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै २०० माइक्रो बस आवतजावत गर्दै आएका छन् ।

यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्ने सजिलो हुने छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा पोशाक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

“अब रत्नापार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ,” उनले भने । शुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी साधनलाई पोशाकको व्यवस्था गरिने गरी महासंघले काम गरिरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालकलाई पोशाक लगाइदिँदै । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकको निर्णयानुसार शुक्रबारदेखि चालक तथा सहचालकले पोशाक लगाएका हुन । तस्वीर : नवीन पौडेल, रासस

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट शुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताए । “आज शुरुवात हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छ,” उनले भने । पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनाल उल्लेख गरे । आजदेखि शुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ ।

यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ । रासस