ट्रम्पलाई ‘पागल’ भन्दै सुलेमानीकी छोरीले भनिन् : अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेका छन्

ट्रम्पलाई ‘पागल’ भन्दै सुलेमानीकी छोरीले भनिन् : अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेका छन्


तेहरान – इरानी सैनिक कमान्डर कासिम सुलेमानीकी छोरीले अमेरिकाको दुखका दिन आएको बताएकी छिन् । सोमबार तेहरानमा सुरू भएको शवयात्रालाई सम्बोधन गर्दै जेनव सुलेमानीले आफ्नो बुवाको मृत्युले अमेरिका र इरानका लागि कालो दिन निम्त्याउने चेतावनी दिँदै मध्यपूर्वी क्षेत्रमा खटिएका अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेको बताएकी छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शत्रुतापूर्ण योजनाअनुसार सुलेमानी र इराकी मिलिसिया कमान्डर अबु महदी मुहान्दीको हत्या गरी इरान र इराकबीच दरार पैदा गर्न खोजेको बताइन् । उनले भनिन्, ‘ट्रम्प तिमी साँच्चिकै जुवाडे हौं । सुलेमानी र अब महदीको हत्याको रणनीतिक गल्तीले इरान र इराकलाई अलग पार्ने खराब योजना असफल भएको छ । यसले दुई मुलुकबीचको आपसी मनमुटावलाई अन्त्य गर्दै ऐतिहासिक एकता कायम गरेको छ ।’

‘ए, पागल ट्रम्प, तिमी मूर्ख हौं र तिमी अन्तर्राष्ट्रिय यहुदीको खेलौना हौं, ‘उनले थपिन्, ‘यस प्रकारको जघन्य अपराधले अमेरिकी अपराधिक र धम्कीपूर्ण भावना अभिव्यक्त गरेको छ । यस घटनाले प्यालेस्टाइनको भूमिमा गराएको रक्तपातलाई पनि ओझेलमा पारेको छ ।’ गत बिहीबार अमेरिकी सैन्य हमलामा सुलेमानी र अबु महेदीसहित अन्य सैन्य जवानको हत्या गरेको थियो । सोमबार उनको अन्तिम संस्कारमा हजारौं मानिसको उपस्थिति थियो ।