इरानको धम्की : अमेरिकाले जवाफी हमला गरे इजरायल र दुबई ध्वस्त पार्छौं

इरानको धम्की : अमेरिकाले जवाफी हमला गरे इजरायल र दुबई ध्वस्त पार्छौं


एजेन्सी – इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेको छ । इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा सो आक्रमण गरेको बताएको छ ।

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ । इराकले भने अमेरिकाले आफुविरुद्ध जवाफी हमला गरे इजराइल र दुबई बमबारी गर्ने चेतावनी दिएको छ । इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति राष्ट्र हुन् ।

इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ । उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो ।

‘अमेरिकाको आतंकवादी सेनालाई आधार दिएका अमेरिकाका मित्रशक्तिहरु कुनैको भूमिबाट पनि इरानविरुद्ध आक्रामक कदम उठाइएमा इरानले तिनमाथि आक्रमण गर्नेछ ,’ रिभोलुसनरी गार्डको वक्तव्यमा उल्लेख छ ।

रिभोलुसनरी गार्डको टेलिभिजन च्यानलले पनि संयुक्त अरब इमिरेटको दुबई र इजरायलको हइफामाथि बमबारी हुने धम्की दिएको छ ।
इरानी सरकारी टेलिभिजनका अनुसार इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ ।