इरान – इरानका सर्वोच्च धार्मिक नेता आयोतल्लाह खामेनीले अमेरिकी सैन्य बेस क्याम्पमा गरिएको आक्रमणलाई थप्पडको संज्ञा दिएका छन् ।
बुधबारराष्ट्रको नाममा सम्बोधन गर्दै खामेनीले अमेरिका ‘बदमास र अमानवीय राष्ट्र’ भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
खामेनीले इरानको जवाफी आक्रमण अमेरिकाको कानमा थप्पड भएको बताउँदै भने,‘हिजो हामीले जवाफी कारवाही गरेर अमेरिकाको कानमा एक थप्पड बजायौं ।’
उनले मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनु पर्ने बताए । ‘अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ,’ उनले भने ।
खामेनी गत शुक्रबार बग्दाद विमानस्थल नजिकै अमेरिकी ड्रोन आक्रमणमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको प्रशंसा पनि गरे ।
‘सुलेमानी महान् र बहादुर लडाकु थिए। र उनी हाम्रा परम मित्र थिए,’ खामेनीले भने ।
गतहप्ताको बिहीबार राति अमेरिकाले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरि हत्या गरेका थिए ।
इरानले अमेरिकासँग बदला लिने बताउँदै मंगलबार अमेरिकी सेनलाई आतंकवादी घोषणा गरेको थियो । बुधबार बिहानै अमेरिकाले इराकस्थित अमेरिकी दुई सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इरानले ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ । यद्यपी अमेरिकाले यस विषयलाई पुष्टि गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणको विषयमा धारणा सार्वजनिक गर्ने बताएका छन् ।
प्रतिक्रिया