उच्च बेरोजगारी रहेको इरानले कसरी धान्ला युद्ध ?

उच्च बेरोजगारी रहेको इरानले कसरी धान्ला युद्ध ?


तेहरान – आफ्ना वरिष्ठ जनलर कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकी निशानामा आक्रमण गरेको छ । यसले केही लगानीकताले यसै घटनाले युद्ध हुनेछ भन्ने प्रस्न गर्न थालेका छन् ।

दुवै मुलुकका अधिकारीहरुले आफूहरुले युद्ध नचाहेको बताउँदै आएका छन् । धेरै भू–राजनीतिक विज्ञहरुले अमेरिकाको तुलनामा इरानले युद्ध धान्न नसक्ने बताउँदै आएका छन् । यो विशेषगरी वर्षौंसम्मको आर्थिक प्रतिबन्धका कारण थिलथिलो भएको इरानको अर्थव्यवस्थाका कारण हो । तर इरानको अर्थतन्त्रको बारेमा आधिकारिक स्रोतबाट अधावधिक तथ्यांक उपलव्ध भएको छैन ।

इरानको परमाणु कार्यक्रम रोक्नका लागि लादिएको अन्तर्रा्ष्ट्रिय प्रतिबन्धले देशको अर्थतन्त्रलाई कमजोर बनाएको छ । २०१५मा इरानको परमाणु कार्यक्रम रोक्नकमा लागि विश्वका ६ शक्ति मुलुकसँग भएको सम्झौता बमोजिम इरानले प्रतिबन्धबाट केही राहत पाएको थियो । तर अमेरिकी राष्ट्रपति ट्रम्पले २०१८ मा इरानमाथि पुनः प्रतिबन्ध लगाएका थिए । यसले इरानी अर्थतन्त्रलाई पुनः एक पटक कमजोर बनाएको छ ।

इरानमा विश्वकै चौथो ठूलो कच्चा तेलको भण्डारण रहेको अनुमान विश्व बैंकको रहेको छ । देशको आर्थिक वृद्धिको र सरकारी राजश्वको ठूलो हिस्सा कच्चा तेलको बिक्रीबाट आउने गरेको छ । तर ट्रम्पले पुनः नाकाबन्दी लगाएपछि इरानी तेलको उत्पादन र बिक्री दुवै घट्दो क्रममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

इरानी तेलको निर्यात र अन्तर्राष्ट्रिय प्रतिबन्धले अन्य क्षेत्रहरु पनि प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रहरुमा बैंकिङ, खानी र समुद्री रहेका छन् । यसले विश्वसँग देशको कुल व्यापार ओरालो लागेको छ ।

यी बाहेक बढ्दो जीवनयापन खर्च, उच्च बेरोजगारी दर र फराकिलो बनेको आर्थिक घाटाले पनि इरानलाई अमेरिकासँगको युद्ध धान्नका लागि मुश्किल हुने देखिन्छ ।