काठमाडौं –संविधान सभाले संविधान बनाउन नसकेर देश अन्योलग्रस्त रहेका बेला नेपालमा विदेशी प्रभाव र सक्रियता बढी नै थियो । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई नजिकबाट नियालिरहेका थिए । त्यति नै बेला २०६६ जेठ ११ गते माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेस सहितको गठबन्धन सरकार बन्यो । जसमा गृहमन्त्री बने भीम रावल ।
सरकार गठन भएको एक महिना पनि नपुग्दै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सरकारलाई २०६६ असार ४ गते बिहीबार अर्थात् जुन १८, २००९, ९:१५ बजे इमेल पठायो । जसमा लेखिएको थियो – गृहमन्त्री भीम रावल दूतावास नजिकका मान्छे हुन्, निकट सम्पर्कमा रहन्छन् । त्यो इमेलमा भीम रावललाई राम्रो राजनीतिज्ञको रुपमा समेत समावेश गरिएको थियो ।
अमेरिकी दूतावासले सरकारलाई पठाएको त्यो इमेल विकिलिक्सले २०६८ भदौ १३ गते सार्वजनिक गरेको थियो । अमेरिकी कूटनीति सम्बन्धी विश्वभरका इमेल सार्वजनिक गर्ने क्रममा विकिलिक्समा भीम रावलको सन्दर्भ समेत समावेश थियो । त्यो सन्दर्भले भीम रावललाई अमेरिकी दूतावास निकट रहेको, अमेरिकी सरकारका लागि ‘दलाली’ गरेको संकेत गर्दा रावल आक्रोशित बने ।
नेपालमा नेताले दूतावासको सम्पर्कमा रहनु, दूतावासका कार्यक्रममा सहभागी हुनु, सूचना आदानप्रदान गर्नु र पक्षमा बहस गर्नुलाई ‘दलाली’ गरेको रुपमा बुझ्ने गरिन्छ । राष्ट्रवादको चर्काे बहसमा भीम रावललाई अप्ठ्यारोमा पार्ने गरी अमेरिकी दूतावासबाट पठाइएको त्यो इमेल सार्वजनिक भयो ।अमेरिकी दूतावासले पठाएको त्यो इमेल सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावल अमेरिकासँग आक्रोशित छन् । अमेरिकाले आफ्नो राजनीतिमा दाग लगाउने काम गरेको उनको बुझाइ छ । त्यही दाग मेटाउन भीम रावलले प्रयास गरिरहेका छन् । पछिल्लो पटक अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाको विरोधमा रावलले दिइरहेको चर्काे वक्तव्य त्यही दाग मेटाउने कडी रहेको नेकपा स्रोतले जनाएको छ ।
नेपालमा जलविद्युत् प्रसारण लाइन, सडक लगायत पूर्वाधार निर्माणका केन्द्रित रहेर विकास कार्यक्रम अगाडि बढाउने एमसीसी परियोजनालाई नेता रावलले सैन्य गठबन्धन इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै विरोध गरिरहेका छन् । नेपालको असंलग्न परराष्ट्रका कारण नेपाल सैन्य गठबन्धनमा समावेश हुन नपाइने र एमसीसी परियोजना अगाडि बढाउन नसकिने दाबी उनले गरिरहेका छन् ।
तर भीम रावल सरकारमा रहँदा उनले गरेका निर्णय र गतिविधि अहिले उनैले गरिरहेको दाबीलाई खण्डन गर्ने खालका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेता भीम रावल रक्षामन्त्री थिए । त्यतिबेला रावलले गरेको निर्णयका आधारमा हालसालै अमेरिकाबाट नेपाली सेनाका लागि दुई वटा स्काई ट्रक भित्रिएका छन् । भीम रावलकै निर्णयका आधारमा नेपाली सेनाले सैन्य सहयोग स्वीकारेको छ ।
उनी रक्षामन्त्री भएकै बेला नेपाली सेना र अमेरिकी सेनाबीच जंगल र हिमाली क्षेत्रमा हुने लडाइ र प्रतिरक्षाबारे संयुक्त सैन्य अभ्यास समेत भएका थिए । रावल रक्षामन्त्री भएकै बेला गरिएका निर्णयमा टेकेर हालसम्म पनि नेपाल र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने गरेका छन् ।
प्रतिक्रिया