एमाले–माओवादी एकताको घोषणा वैशाख ९ मा : वामदेव

एमाले–माओवादी एकताको घोषणा वैशाख ९ मा : वामदेव


काठमाडौं– एकताका सुत्राधार मानिएका एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले–माओवादीबीचको पार्टी एकताको घोषणा ९ वैशाखमा हुने बताएका छन्।

एमाले धादिङ– काठमाडौं सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिबार आयोजना गरेको कार्यक्रममा नेता गौतमले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी भएको बताएका हुन्।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पु¥याएको उनले बताए।

‘२०६३ सालदेखि मैले एकताको प्रयास गरें। अहिले आएर सफल भएको छु। यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ। त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो।

सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे।