चितवनमा एसपी एक महिनादेखी खाली, अवकासकै मुखमा खनालको ध्यान बढुवामा

चितवनमा एसपी एक महिनादेखी खाली, अवकासकै मुखमा खनालको ध्यान बढुवामा


काठमाडौं– नेपाल प्रहरीमा डिआईजीदेखी डिएसपीसम्म बढुवा गर्ने तयारी छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माघ २९ मा ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकास पाउंदैछन् । खनालले मात्र होईन गृहसचिव प्रेमकुमार राई पनि यही माघ २० मै अवकास पाउंदैछन् ।

सचिव राई र प्रहरी महानिरीक्षक खनाल दुवै अवकासमा जानै लाग्दा प्रहरीमा ठुलो संख्यामा उच्च अधिकारीको बढुवाको तयारी भएको हो । यसअघि लामो समयसम्म प्रहरीमा बढुवा रोकिएपनि निकटका अधिकृतहरुलाई बढुवा गर्न प्रक्रिया नै रोकिएको थियो ।

प्रहरीस्रोतकाअनुसार हाल नेपाल प्रहरीमा १ डिआईजी, ९ एसएसपी, १५ एसपी र ४० जना डिएसपीको दरबन्दी खाली छ । उक्त पदमा बढुवाको लागी तयारी भएपनि गृहसचिव राई थाइल्याण्डको भ्रमणमा रहेकाले प्रक्रिया अघि बढेको छैन् । राई माघ ६ मा स्वदेश फर्केलगत्तै प्रहरीमा बढुवा प्रक्रिया अघि बढ्नेछ । हाल नेपाल प्रहरीमा ठुलो संख्यामा वरिष्ठ अधिकारीको दरबन्दी खाली छ । नेपाल प्रहरीका एक एसपीले ठुलो संख्यामा वरिष्ठ प्रहरी अधिकारीको दरबन्दी रिक्त भएकाले संगठनमा असर परेको काठमाडौंपाटीलाई बताए ।

नेपाल प्रहरीले १ सय ४९ जना प्रहरी निरिक्षकको विज्ञापन आह्वान गरेको छ । त्यसैगरी १ सयभन्दा बढी प्रहरी निरिक्षकहरु अहिले तालिममा छन् भने ५० जनाको बढुवा गर्ने तयारी छ । प्रहरीमा अहिले करिव फिल्डमा ३ सय ५० प्रहरी निरीक्षकको कमी छ । यसरी हेर्दा प्रत्येक जिल्लामा ४ जनाभन्दा बढी प्रहरी निरीक्षक खाली हुन्छ ।

प्रहरीमा सरुवा र बढुवामा बिवाद हुंदै आएको छ । आफु निकटका जुनियरलाई बढुवा गर्न पनि दरबन्दी रिक्त हुंदा समेत प्रक्रिया अघि नबढाउने रोग प्रहरी नेतृत्वमा देखिन्छ । त्यसैको सिकार संगठन भईरहेको आरोप प्रहरी भित्रकै अधिकारीहरुले लगाउने गरेका छन् । चितवनमा हाल एसपी खाली भएको पनि महिना दिन वित्न थालिसकेको छ ।
प्रहरी महानिरीक्षक खनालले चितवनमा एसपी गंगा पन्तलाई जिम्मेवारी दिएपछि सरुवामा बिवाद भएको थियो । चितवनमा एसपी रहेका दानबहादुर मल्ल हाल फिर्ता भएर विमानस्थलको सुरक्षामा खटिएपनि पन्तले भने अझै रमाना पाइसकेकी छैनन् ।यसबाट प्रहरी संगठनभित्र अराजकताले ठाउं पाएको प्रस्ष्ट भएको एक प्रहरी अधिकारी बताउंछन् ।

‘प्रहरी महानिरीक्षक खनालले चितवनमा एसपी पठाउन नसक्नु उनको असक्षमता हो , एक-एक महिनासम्म पनि चितवनजस्तो जिल्लाको एसपी खाली राख्ने काम राम्रो होईन ।’ प्रहरी स्रोतले भन्यो ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएको दुई बर्ष वितिसक्दा पनि बढुवा प्रक्रियामा लापरवाही गर्ने काम भएपनि अवकासकै मुखमा भने उनले बढुवा गर्न खोजेका छन् । त्यसमा गृहसचिव प्रेम राईको पनि साथ छ ।

प्रहरीभित्रै डिआईजीको बढुवा गरेपनि अन्य दर्जाको हकमा भने बढुवा प्रक्रिया नयां महानिरीक्षकले गर्न पाउनुपर्ने भन्दै लविङ्ग तिव्र छ । नयां महानिरीक्षकका लागी डिआईजीहरु ठाकुर ज्ञवाली र तारणी लम्शालबीच प्रतिस्पर्धा छ । वरियतामा एक नम्बरमा रहेकाले डिआईजी ज्ञवाली नै खनालपछि संगठनको नेतृत्व गर्ने सम्भावना प्रवल छ ।

‘रोकिएको बढुवा प्रक्रिया सुचारु हुनु प्रहरी भित्रका अधिकृतहरुको वृतिविकासका लागी आफैमा सकरात्मक कदम भएपनि व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर बढुवा भयो भने त्यसले संगठनमा असर गर्छ ।’ प्रहरीका एक डिआईजीले भने ।

हाल डिआईजी बढुवाका लागी पुरानो ब्याचबाट एसएसपीहरु घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चौधरी र राजेश लाल कर्ण छन् ।

त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् । डिआईजी बढुवामा सिंह र ऐरको कडा प्रतिस्पर्धा छ । दुवै जनाको सत्तारुढ दल नेकपासंग निकट सम्बन्ध छ । डिआईजी बढुवाको लाईनमा रहेका काठमाडौं प्रहरी प्रमुख रहेका सुवेदी कार्यसम्पादन र व्यवसायीक रुपले अघि छन् ।

त्यस्तै एसएसपी बढुवाको लागी एसपीहरु भरत बोहरा, कुवेर कठायत, विष्णु केसी, राजेशनाथ बांस्तोला, दुर्गा सिंह,सुदिप गिरीलगायत बढुवाको लाईनमा छन् । डीएसपीबाट एसपी बढुवामा कुलबहादुर कार्की, राकेश सिंह,ऋषीराज कंडेल, भुवनेश्वर तिवारी, वेद विष्ट, अमरेन्द बहादुर सिंह,होविन्द वोगटी, सन्तोषसिंह राठौर, दिपक पोखरेल, संजय थापा र सुवासचन्द बोहरालगायत लाईनमा छन् ।