चितवन – माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अस्पतालमा पुगेर भेट गरेका छन् । खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई आज भेटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा १४ जना घाइते प्रहरी उपचाररत रहेका छन् । उनीहरुको अवस्थाको बारेमा प्रत्यक्ष भेट गरी खनालले जानकारी लिएका हुन् । सो क्रममा उनले उपचारमा संलग्न चिकित्सकसँग पनि भेट गरेका थिए । उनले उपचारमा कुनै कसर बाँकी नराखी काम गर्न अस्पतालका चिकित्सकलाई अनुरोध गरेको कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना उपचारपछि घर फर्किएका छन् । पवित्र तीर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कंदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दासढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँ तर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो ।
प्रतिक्रिया