काठमाडौं – उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङफेले अग्नी सापकोटाले नभइ आफूले बाजी मारेको प्रतिक्रिया दिएकी छन् ।
संसदबाट राजीनामाको घोषणा गरेकी डा. तुम्बाहाङफेले एउटै क्षेत्रमा ५ वर्ष बिताउनु नपरेकाले खुसी लागेको बताएकी छन् । ‘मेरो लक्ष्य अर्को पनि छ, यो पनि थियो,’ उनले भनिन्, ‘आजदेखि काम गर्ने ट्रयाक चेन्ज गर्दैछु ।’
सभामुखमा तपाईको दाबी थियो तर अग्नि सापकोटाले बाजी मार्नु भयो होइन भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘बाजी मैले मारें । संविधानअनुसार यो संस्थालाई अगाडि बढाउन सकें । नेतृत्वबिहीन बनाएर जानु परेन, त्यसकारण मैले बाजी मारें ।’
त्यस्तै उनले राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन् । उनले सबै मिलेर राजसंस्था फालेको भए पनि पितृसंस्था राजसंस्था भन्दा ठूलो रहेको महसुस गरेको बताइन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । लगतै प्रतिनिधिसभामा सचिवालयमा राजीनामा पत्र बुझाइन् ।
प्रतिक्रिया