पार्टी सदस्यलाई नेकपाको निर्देशनः तँ नभन्नु, परिवारसँगै बसेर खाना खानु !

पार्टी सदस्यलाई नेकपाको निर्देशनः तँ नभन्नु, परिवारसँगै बसेर खाना खानु !


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ । नेकपाले जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के–के गर्ने भनेर उल्लेख गरिएको छ ।

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको छ ।

संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ । जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा उल्लेख छ ।

पार्टी सदस्यहरूले बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने समेत भनेको छ ।

‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।’

सोही बुँदामा छोराछोरीको बिहे मितव्ययी बनाउनु पर्ने पनि उल्लेख छ ।

समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि संहितामा सदस्यहरूलाई भनिएको छ । घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउन समेत नेकपाले भनेको छ ।

कार्ययोजनामा २०७६ सालको जेठ महिनाभित्र कार्य्विधिअनुसार संगठित सदस्यता नवीकरण गरिसक्ने उल्लेख छ । पार्टी एकता भएको अघिल्लो दिन २०७५ जेठ २ सम्म कायम रहेका संगठित सदस्यको विवरण २०७६ माघ मसान्तभित्र सम्बन्धित कमिटीहरूले केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

कार्ययोजनामा पहिलाका संगठित सदस्यहरूले प्रमाणसहित सदस्यता नवीकरण कार्यदलमा उपस्थित भएर २०७६ चैतसम्मको सदस्यता शुल्क तिरेको प्रमाण उपलब्ध गराउनुपर्ने छ ।

कार्यदलले केन्द्रीय संगठन विभागद्वारा उपलब्ध गराइएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र ग्रहण दर्ता गर्नेछ भने निवेदकमध्ये योग्य ठहरिएका व्यक्तिको संगठित सदस्यता नवीकरण गर्न प्रस्ताव तयार गरेर माथिल्लो कमिटीमा प्रस्तुत गर्नुपर्नेछ । कमिटीले प्रस्तावको आधारमा संगठित सदस्यता नवीकरण सम्बन्धमा आवश्यक निर्णय गर्ने कार्ययोजनामा उल्लेख छ ।

पार्टीको संगठित सदस्यहरूको अभिलेख डिजिटल प्रणालीमा राख्ने बताइएको छ । सदस्यलाई संगठित सदस्यता नम्बरसमेत प्रदान गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनामा पार्टीका संगठित सदस्यहरूलाई २०७७ सालको असार मसान्तभित्र पार्टी कमिटी, निकाय र विभागमा संगठित गर्ने बताएको छ । यसका साथै प्रत्येक संगठित सदस्यहरूको विवरण तथा मूल्यांकन फाइल खडा गर्ने र फाइलमा कार्यसम्पादनको प्रभावकारिता, अनुशासनको पालना जस्ता विषयहरू समेट्ने बताइएको छ ।

संगठन विभागको कार्ययोजनामा पार्टीमा नेताहरूले नै गुटबन्दी गर्ने गरेको आरोप लगाइएको छ । ‘गुटबन्दीको स्रोत माथि हुने हुनाले त्यसलाई अन्त्य गर्न पनि माथिबाटै प्रभावकारी कदम चाल्नुपर्छ,’ कार्ययोजनामा उल्लेख छ ।

‘पार्टीको आधिकारिक नीति र नेतृत्वका विरुद्ध गोप्य समूह निर्माण गरी पार्टीलाई नकारात्मक रूपमा प्रभावित गर्ने क्रियाकलाप गुटबन्दी हो,’ कार्ययोजनामा भनिएको छ, ‘गुटबन्दीले सही विचार, कार्यक्रम र योजनालाई कार्यान्वयन गर्नमा अवरोध सिर्जना गर्छ र व्यक्तिगत स्वार्थ पूरा गर्ने दुस्कार्यलाई प्रोत्साहन गर्छ ।’

गुटबन्दीले पार्टीमा अराजकता र अनुशासनहीनता सिर्जना गर्ने र असफल बनाउने भन्दै कार्ययोजनाले गुटबन्दीलाई क्यान्सरजत्तिकै खतरनाक रोग मानेको छ ।

‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यले पार्टीको नीति, निर्णय वा नेतृत्वका विरुद्ध अनुकूलताका पात्रहरूको खोजी गर्ने, उनीहरूलाई पार्टीको वैधानिक व्यवस्थाविपरित भेला, बैठक वा समानान्तर गतिविधिमा उतार्ने, कमिटी प्रणालीलाई चुनौती दिँदै मन मिल्नेहरूको बैठक बस्ने र पोजिसन बनाउने, स्वार्थ समूह वा स्वार्थी तत्वहरूको झुण्ड निर्माण गरेर पार्टीमा दबाब सिर्जना गर्ने, पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा चुनौती दिने वा अवज्ञा गर्नेजस्ता स्वेच्छाचारी, अनुशासनहीन, स्वार्थ र पार्टिहित विपरितका क्रियाकलापलाई कडाइका साथ रोक्नुपर्छ,’ कार्ययोजनामा उल्लेख छ ।