प्रदेश २ मा नेकपाको समर्थनमा राष्ट्रियसभा उम्मेद्वार बनेका राजपा नेताविरुद्ध उजुरी

प्रदेश २ मा नेकपाको समर्थनमा राष्ट्रियसभा उम्मेद्वार बनेका राजपा नेताविरुद्ध उजुरी


जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेश सभाको उम्मेदवार बनेका शेखर सिंहविरुद्ध उजुरी परेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको राजपाको तर्फबाट उम्मेद्वार भएका सिंहले अल्पसंख्यक समूहबाट उम्मेदबारी दिएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले उनीविरुद्ध राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ जनकपुरधाममा उजुरी दर्ता गराएका छन् । उजुरीमा राजपा उम्मेदवार सिंहले कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना फर्छ्यौट नगरेको दावी गरिएको छ ।

२०४४ असार ३० मा सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा सिंहबिरुद्व कैद र जरिवानाको फैसला गरेको उजुरीमा उल्लेख छ ।

सो फैसला तत्कालीन सगरमाथा अञ्चल अदालतबाट सदर भई सर्वाेच्च अदालतको पूर्ण इजलासको २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने भई अन्तिम फैसला भएको पनि निवेदनमा भनिएको छ । उजुरीकर्ता कांग्रेस उम्मेदवार पंजियारले अदालतबाट तोकिएको सजाय भुक्तान नगरेकाले उम्मेदवारी खारेज गर्नुपर्ने जिकिर गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ का अधिकृत राजुकुमार खतिवडाले भने उजुरी दर्ता भएको पुष्टि गरेका छन् । उनले उजुरी निर्वाचन आयोगमा पठाउने र त्यहाँबाट गरिने निर्णय कार्यान्वयन हुने बताए ।