काठमाडौं – नेपाली सेनाको नेतृत्वमा प्रधानसेनापति पूर्णचन्द्र थापा आउँदा थुप्रै सुधारका अपेक्षा गरिए । सेनाको नेतृत्व सम्हालेको पहिलो वर्ष थापाले प्रशंसा पाए । थापाको दोस्रो वर्ष चलिरहँदा आलोचित हुन थालेका छन् । पहिलो वर्षमा सेनापति थापाले आन्तरिक सुधार, आर्थिक सुशासन, दण्डहीनता, भनसुन र राजनीतिक हस्तक्षेपको अन्त्यका लागि थुप्रै प्रयास गरे ।संयुक्त राष्ट्रसंघीय मिसनमा जाने अवसर सबैलाई प्रदान गर्न सेनापति थापाले नीतिगत सुधार नै ल्याए । जसले गर्दा सेनाभित्र थापाले प्रशंसा कमाए । पछिल्लो समय काठमाडौं–निजगढ द्रूतमार्गमा अनियमितता भएको उजुरीमाथि छानबिन र कारवाही प्रक्रिया अगाढि बढाएर सेनापतिले साहसिक काम गरेपनि त्यसमा पनि दोषी भनिएका तत्कालिन प्राविधिक उपरथी योगेन्द्र खांडलाई उनले कार्वाही गर्न नसक्दा उनले प्रचार मात्र बढी गरेको काम नगरेको आरोप उनिमाथी लागेको छ ।
सैनिक कमाण्डलाई जिम्मेवार बनाउने र कामका आधारमा पुरस्कार र दण्ड दिने नीति सार्वजनिक गरेपनि पछिल्लो समय रिक्त जिम्मेवारीमा बढुवा र पदपूर्तिमा सकस देखिएको छ । त्यतिमात्र होईन प्रधानसेनापति थापा सानो घेरामा बसेर काम गरेको, निकटकालाई मात्र अवसर दिएको र आफ्नो भिजनलाई लागु गर्नेमा भन्दा अरुकै गल्ती खोज्नेमा मात्र केन्द्रित भएको गुनासो सेनाभित्र छ । नेपाली सेनाको रिक्त रहेको उपरथी पदमा सेनापति थापाले उपयुक्त व्यक्तिलाई यथाशीघ्र जिम्मेवारी दिन सकेका छैनन् । पद रिक्त हुनुअघि नै पदपूर्तिको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गरेका सेनापति थापाले उपरथी पद रिक्त भएको लामो समयसम्म पनि पदपूर्ति गर्न सकेका छैनन् । जवकी तिर तारे जर्नेल हुने नहुने चर्चा चलिरहेका बेला हालका बलाध्यक्ष गौरव तण्डुललाई उनले दरबन्दी रिक्त नहुंदै फुली लगाएपछि सेनामा कस्को दबावमा थापाले उक्त निर्णय गरे भन्ने चर्चा चलेको थियो ।
उपरथी शिवराम खरेल, प्राविधिक उपरथी सुधिर श्रेष्ठ र उपरथी भुवन अधिकारीले अवकाश र राजीनामा दिएपछि सेनापति पद खाली छ । सेनापति थापाले बढुवाको प्रक्रिया अगाडि नबढाउँदा ती जिम्मेवारी पदाधिकारीविहीन भएका छन् । उपरथी खरेलले पुस २१ गते अवकाश पाएका हुन् भने अधिकारी र श्रेष्ठले त्यसअघि नै अवकाश पाइसकेका छन् । अधिकारीले मंसिर १५ गते र श्रेष्ठले पुस १ गते राजीनामा दिएर पद रिक्त भएको थियो । उपरथीमा बढुवा भएर हवाई महानिर्देशनालयको प्रमुख हुने क्रममा सहायकरथी धनेन्द्रबहादुर शाह रहेका छन् । आर्थिक प्रशासन विभागको प्रमुखमा सहायकरथी ध्रुब शाहको सम्भावना छ । अवकाश प्राप्त उपरथी खरेलको ठाउँमा नगरकोटस्थित नेपाली सैनिक वार कलेजका शिक्षाधिकृत सुरेश कार्की बढुवा हुने क्रममा छन् । चीनबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गरेका कार्की उपरथीको बढुवामा भएपनि सैनिक नेतृत्वले बढुवा प्रक्रिया अगाडि बढाएको छैन ।
सैनिक संगठनभित्र उत्प्रेरणा जगाउने क्रममा सेनापति थापाले बढुवा एकदिन पनि नरोक्ने अभिव्यक्ति दिने गरेका थिए । तर उपरथीको बढुवाका सन्दर्भमा भने सेनापति थापा आफ्नै प्रतिवद्धता कार्यान्वयनमा चुकेका छन् । उपरथी पद विगत झण्डै २ महिनादेखि खाली छ । सैनिक संगठनभित्र कारवाही र सजायका सन्दर्भमा कडा देखिएका सेनापति थापाले उत्प्रेरणा बढाउन र उचित जिम्मेवारी दिन कन्जुस्याइँ गरिरहेको चर्चा सेनाभित्र चल्ने गरेको छ । ‘चेन अफ कमाण्ड’का कारण खुलेरै सेनापति थापाको आलोचना गर्न नसकिरहेका अधिकृत समेत आफू निकटसँग गोप्य रुपमा नेतृत्वको कार्यशैली कमजोर हुँदै गएको चर्चा गर्ने गर्छन् ।
प्रतिक्रिया