थबाङ गाउँपालिकाका अध्यक्ष अझै ‘विप्लवको अपहरण’ मा, प्रचण्डले दिए यस्तो चेतावनी

थबाङ गाउँपालिकाका अध्यक्ष अझै ‘विप्लवको अपहरण’ मा, प्रचण्डले दिए यस्तो चेतावनी


रोल्पा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको स्थानीय सरकारलाई ‘वैधानिक जनसत्ता’ को रुपमा अथ्र्याएका छन्।

 

 

रोल्पाको थबाङ गाउँपालिकाको पहिलो गाउँसभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा चलाइएको जनसत्ता नै अहिलेको स्थानीय सरकार भएको बताए।

 

 

‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता पाएको थिएन,’ उनले भने, ‘अहिले जे बनेको छ यो पनि जनसरकार नै हो।’ प्रचण्डले माओवादी जनयुद्ध तथा थबाङवासी जनताकै कारण मुलुकले काँचुली फेरेको बताए।

 

थबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रचण्डले थबाङमा तटबन्ध निर्माण, १५ शैयाको अस्पताल निर्माण लगायतका कार्यलाई अगाडि बढाउन आफूले पहल गरेको स्मरण गराए।

 

 

विप्लबलाई यस्तो चेतावनी

 

प्रचण्ड आउने कार्यक्रम तय भएपछि उनका पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई वीरबहादुर घर्तीमगरलाई ‘अपहरण’ गरेका थिए। ससुराली गएका घर्तीमगरलाई विप्लव समूहले गत बिहीबार नै ‘अपहरण’ गरेको माओवादी बताउदै आएको छ। तर, त्यसको बाबजुद पनि प्रचण्ड शनिबार रोल्पा पुगे। र, थवाङ गाउँपालिकाको गाउँसभाको उद्घाटन गरे।

 

 

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाले आफ्नै थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुरलाई अपहरण गरी कायरता देखाएको आरोप लगाए। संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले जन्माएको बच्चा भएको भन्दै प्रचण्डले विप्लवलाई प्रश्न गर्दै भने, ‘के आफैले जन्माएको बच्चालाई मेरो होइन भन्दै लत्याउने काम राम्रो हो ?’ यसलाई हुर्काउने भन्दा पनि मार्न खोजेर नेकपाले अमानवीय कार्य गरेको उनले बताए।

 

 

स्थानीय प्रहरीले वीरबहादुरको खोजीका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरेको जनाएपनि अझै उनको अवस्था अज्ञात रहेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार नै नेकपाका राप्ती इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ लाई पक्राउ गरिसकेको छ।