नयाँदिल्ली – भारतमा निर्भया हत्या काण्डका चार दोषीलाई सुनाइएको मृत्युदण्ड स्थगित भएको छ ।
यही जनवरी २२ को बिहान ७ बजे मृत्युदण्ड दिने फैसला भए पनि स्थगित भएको हो । नयाँ निर्णय अनुसार फेब्रुअरी १ मा मात्रै उनीहरुलाई मृत्युदण्ड दिइनेछ । १ फेब्रुअरीको बिहान ६ बजेका लागि समय तोकिएको छ ।
उनीहरुले आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने र सम्पत्तिको स्रोतबारे कुनै जवाफ दिएका छैनन् । भारतको कानुन अनुसार मृत्युदण्ड पाउनुअघि कसुरदारले आफ्नो परिवारको आफूले चाहेको व्यक्तिलाई अन्तिम पटक भेट्न पाउँछ ।
साथै आफ्नो सम्पत्तिको हकदार कसलाई बनाउने भन्ने प्रश्न पनि कसुरदारलाई अदालतले सोध्छ । तर निर्भया हत्याकाण्डका दोषीले यी दुबै प्रश्नको जवाफ नदिएको भारतीय मिडियाले जनाएका छन् ।
तिहाड जेलको स्रोतलाई हवाला दिँदै एनडिटिभीले चारैजना अभियुक्त ती प्रश्नमा मौन रहेको जनाएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय सिंह र पवन गुप्तालाई अदालतले यही २२ जनवरीको बिहान ७ बजेका लागि मृत्युदण्ड सुनाएको थियो ।
तर अन्तिम समयमा मौन रहेपछि उनीहरुले थप समय मागेको हुनसक्ने अनुमान गरिएको छ । साथै दुई अभियुक्तले अदालतको फैसलापछि पुनर्विचार गर्न निवेदन दिएका थिए । निर्भयाका परिवार र आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गर्दैआएका थिए ।
२३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको २०१२ मा सामूहिक बलात्कारपछि हत्या भएको थियो । जुन घटनाले भारतमा देशव्यापी आन्दोलनको रुप लिएको थियो । घटनाको सात वर्षपछि दोषीलाई अदालतले मृत्युदण्ड दिनुपर्ने फैसला सुनाएको हो ।
प्रतिक्रिया