लोकतन्त्रको सूचकांकमा नेपालको पाँच स्थान सुधार

लोकतन्त्रको सूचकांकमा नेपालको पाँच स्थान सुधार


काठमाडौं – चर्चित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘द इकोनोमिस्ट’ को वार्षिक लोकतन्त्र सूचकांकमा नेपालको स्थानमा पाँच अंकले सुधार भएको छ । बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को सहयोगमा प्रत्येक वर्ष (डेमोक्रेसी इण्डेक्स) लोकतन्त्रको सूचक जारी गर्दै आएको छ ।

यो युनिटले जारी गरेको १६५ देशको सूचीमा नेपालको पाँच स्थान सुधार भएको  हाे । नेपाल सूचीको ९२औँ स्थानमा रहेको छ । यो सूचक २०१९ को हो । यसअघि सन् २०१८ मा नेपाल ९७औँ स्थानमा थियो ।

इन्टेलिजेन्स युनिटले भनेको छ, “नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार सन् २०१९–२०२० सम्म रहनेमा आशा गर्दछौँ । चीन र भारतसँगको सम्बन्ध सन्तुलित गर्नु नेपालको विदेश नीतिको लागि महत्वपूर्ण रहनेछ । पूर्वानुमान अवधिमा यी दुवै देशको वित्तीय सहायताबाट नेपाललाई फाइदा पुग्नेछ ।

सन् २०१९–२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने अनुमान छ र यो निजी खपत र निश्चित लगानीबाट सफल हुनेछ । तर ठूलो मात्राको व्यापार घाटा नीति निर्माताहरुका लागि चिन्ताको विषय बनि रहनेछ ।”

यो प्रतिवेदनमा नर्वे पहिलो स्थानमा छ । आइसल्याण्ड दोस्रो, स्विडेन तेस्रो, न्युजिल्याण्ड चौथो, फिनल्याण्ड पाँचौ, आयरल्याण्ड छैटौ, डेनमार्क सातौँ, क्यानडा आठौँ, अस्ट्रेलिया नवौँ र स्विजरल्याण्ड १० औँ स्थानमा छन् । यसका साथसाथै अमेरिका २५औँ, जापान २४औँ, इजरायल २८औँ र बेलायत १४औँ स्थानमा छ ।

दक्षिण एसियाली देशमा चीन १५३औँ, पाकिस्तान १०८औँ, बंगलादेश ८०औँ र श्रीलंकाङ्का ६९औँ स्थानमा छन् ।