काठमाडौं – चीन यतिबेला गम्भीर स्वास्थ्य संकटबाट गुज्रिरहेको छ, जुन संकटबाट विश्व नै त्रसित बनेको छ ।
चीनमा देखिएको कोरोना भाइरस फैलिँदै मृत्यु हुने व्यक्तिको संख्या १०० भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भाइरसबाट हजारौं व्यक्तिमा संक्रमण देखिएको छ भने सर्वसाधारणमा त्रास देखिएको छ ।
चीनको खुबे प्रदेशमा मात्रै मंगलबारसम्म बिरामीको संख्या १ हजार ३ सय पुगेको छ । अन्य विभिन्न प्रदेशमा समेत भाइरसको संक्रमण देखिएको छ । संक्रमण तीब्रगतिमा फैलिएपछि चिनियाँ प्रशासनले सर्वसाधारणको आवतजावतमा लगाइएको प्रतिबन्धलाई कडा पारेको छ ।
चिनियाँ नागरिकलाई विदेश यात्रा नगर्न समेत सरकारले आग्रह गरेको छ । अमेरिका, भारत लगायत देशले समेत आफ्ना नागरिकलाई चीन यात्रामा नजान र चीनमा रहेका नागरिकलाई सुरक्षित बस्न आग्रह गरेका छन् । चीनले भाइरस संकटलाई ‘अभूतपूर्व’ र गम्भीर रुपमा लिएको छ ।
वुहान सुनसान
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान शहर सुनसान भएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । सडक, बजार, सपिङ मल, खेल मैदान सुनसान छन् भने सडकमा यदाकदा एम्बुलेन्स गुडिरहेका देखिन्छन् ।
भाइरसको संक्रमण फैलिन नदिन चीन यसले त्यस क्षेत्रमा आवतजावत पूर्णरुपमा प्रतिबन्धित गरेको छ । चीनको खुबे प्रदेशमा मात्रै मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
कोरोनाको भयावह अवस्थामा कारण चीनमा उद्योग प्रतिष्ठान र कम्पनीले बिदा दिएका छन् । चीन सरकारले आगामी १० फेब्रुअरीसम्म कार्यालय खोल्न प्रतिबन्ध लगाएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कम्पनीबाहेक सबैमा प्रतिबन्ध कायम गरिएको छ ।
चिनियाँ राष्ट्रपतिको चिन्ता, अमेरिका उद्धारमा
चिनियाँ राष्ट्रपति सी चिनफिङले ज्यानमारा भाइरस तीब्रताका साथ फैलिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । चीनमा नयाँ वर्षको बिदामा विशेष बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भाइरसको संक्रमणप्रति चिन्ता जनाएका हुन् । देशले गम्भीर स्थितिको सामना गरिरहेको सीले जनाएका छन् ।
अमेरिकाले चीनको वुहानमा रहेको दूतावासका कर्मचारीलाई उद्धार गरेर निकालिने जनाएको छ । मंगलबार विशेष उडानमार्फत अमेरिकी कर्मचारीको उद्धार गर्ने तयारी भइरहेको छ । अमेरिकी नागरिक समेत खतरामा रहेको जनाउँदै अमेरिकी विदेश मन्त्रालयले सबैको उद्धार गर्न उडानको प्रबन्ध मिलाइने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फैलिँदै भाइरसको संक्रमण
चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन बाहिर ४४ जनामा भाइरसको संक्रमण देखिएको प्रारम्भिक रेकर्ड सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।
जर्मनी, अमेरिका, अस्ट्रेलिया, नेपाल लगायत देशमा कोरोना संक्रमित व्यक्ति देखापरेका छन् । तर चीन बाहिर कसैको पनि मृत्यु भएको पाइएको छैन ।
कोरोना भाइरस संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी समस्या देखिने गरेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने कोरोना संक्रमणका लक्षण रहेका छन् । भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम भएर जाँदा संक्रमितको मृत्यु समेत हुने गरेको छ ।
नेपालसम्मै पुग्यो भाइरस
भाइरसको संक्रमण नेपालसम्म पुगेको स्वास्थ्य मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन् । हालसालै चीनमा अध्ययन गरेर फर्किएका एक जना विद्यार्थीमा संक्रमण देखिएको र उनको उपचार भइरहेको जनाइएको छ ।
चीनबाट थप संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । तर डेस्कमा संक्रमण पहिचान हुने पर्याप्त उपकरण र विशेषज्ञ चिकित्सकको अभाव रहेको गुनासो छ । कोरोना नयाँ भाइरस भएकाले यसबारे भ्रम र शंका समेत फैलिने गरेको छ ।
प्रतिक्रिया