यती समूह जग्गा प्रकरणबारे प्रधानमन्त्री मुख खोले

यती समूह जग्गा प्रकरणबारे प्रधानमन्त्री मुख खोले


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहसँग पछिल्लो समयमा भएका सम्झौता र सम्बन्धका बारेमा स्पष्ट पारेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले यती समूहसँगको सम्बन्धका बारेमा स्पष्ट पारेका हुन् । उनले ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरेको बताए ।

‘यती होल्डिङ्स हाम्रो घनिष्ट र मितेरी साइनो हो कि भन्ने व्याख्या गर्न थालिएको छ,’ ओलीले भने, ‘मदन भण्डारीले पासाङ ल्हामुलाई बिदाइ गरेको फोटोसमेत जोडेर अहिले आलोचना गरिएको छ । उहाँले शुभकामना दिएर पठाउनुभएको थियो । त्यसलाई पनि जोडेर ल्याइएको छ । १२ वर्षअघि कोङ्दे रिसोर्ट बन्यो अहिले ल्याइएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कालीमाटीको जग्गा लिजमा दिइएको रहेछ । शेरबहादुरजीको पालामा दिइएको छ । प्रक्रिया पुर्याएरै दिइएको रहेछ । तर अहिले विरोध भइरहेको छ ।’

उनले नारायणहिटीअघिको जग्गा पनि त्यसैगरी विवादमा ल्याइएको बताए ।

‘नारायणहिटीअघिको जमिन दिनुहुन्थ्यो कि हुँदैनथ्यो अर्को विषय भयो,’ उनले भने, ‘दिने नीति लिएर दिएको छ भने के को विरोध ? अहिलेको सरकारले होइन पहिलेको सरकारले दिएको हो । ६ अर्ब लिज पर्ने एक अर्बमा दिइयो भनिएको छ । जमिनकै मूल्य हेर्दा पनि त्यो होइन । लेख्ने मान्छेले १ अर्ब ४० करोड लेख्न पर्नेमा ६ अर्ब लेखेको रहेछ । बाइमिस्टेकले लेखेको रहेछ । ६ अर्बका दरले एक रोपनी जग्गा होला त्यहाँ, त्यो मूल्य पनि पर्दैन । आनाको कति पर्छ ? मूल्य पनि नपर्ने कुरामा भूलचुकले लेखिएको विषय त्यो पनि अघिल्लो सरकारका पालामा गरिएको छ तर अहिलेको सरकारलाई आरोप लगाइएको छ ।’

उनले व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिष्पर्धाको बीचमा आफूहरु पर्न नहुने बताए ।

‘व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिष्पर्धामा हामी पर्दैनौं । देशमा कसैले विकासका काम राम्रोसँग अघि बढाउन् भन्ने चाहन्छौं,’ उनले भने, ‘कानुनभन्दा विपरीत जान दिँदैनौं । गोकर्ण रिसोर्ट दरबारले विदेशीलाई लिजमा दिएको थियो । अहिले नेपालीलाई दिइएको छ । के फरक पर्यो त ? एउटा ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न पाएन भनेर गोकर्ण बन्द गर्नुपर्ने हो ? समय नसिध्दिदै किन ? भन्ने प्रश्न आयो । हामी बन्द गर्ने नीतिमा जाने हो र ?’