चीन दुष्ट भाइरससँग लडिरहेको छः राष्ट्रपति सी चिनफिङ

चीन दुष्ट भाइरससँग लडिरहेको छः राष्ट्रपति सी चिनफिङ


चीन – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए ।

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा सङ्क्रमण उच्च तहमा पुग्ने बताएका छन् । जसको अर्थ हुन्छ त्यसपछि सङ्क्रमण घट्दै जानेछ । कोरोना भाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८ सय सङ्क्रमण भएको आँकडा दिएका छन् । ती सङ्ख्या मङ्गलवार बताइएको आँकडासँग मिल्छन् ।

हुबेइको वुहान शहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ । दुई सय यात्रुसहित जापानी विमान त्यहाँबाट उडेको छ भने बुधवार अबेर अमेरिकी चार्टर्ड विमान त्यहाँबाट बाहिर उड्दैछ । युरोपेली आयोगले युरोपेली नागरिकहरूको उद्धारमा सहयोग गर्ने बताएको छ ।

हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ । जापान र जर्मनीमा चीन नगएका मानिसहरूमा पनि सङ्क्रमण देखिएको छ । ती व्यक्तिमा चिनियाँ मानिससँग भेटघाटमार्फत् सङ्क्रमण सरेको बताइएको छ । हालसम्म चीनमा सङ्क्रमितहरूको सङ्ख्या ४५ सय पुगेको छ ।

चीनमा कोरोनाभाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ । सुरुमा मर्नेहरूमा ती पाका उमेरका बिरामी थिए जसमा स्वासप्रस्वाससम्बन्धी दीर्घ रोग थिए । हालैका समयमा मारिनेहरूको भने विस्तृत विवरण आएका छैनन् ।