कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर हिँड्न गाह्रो भयोः नेकपा नेता

कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर हिँड्न गाह्रो भयोः नेकपा नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ न्यौपानेले पार्टी नेता, जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । समूह १३ का टोली नेताको तर्फबाट छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्ने क्रममा न्यौपानेले यस्तो माग गरेका हुन् ।

‘जनस्तरमा कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर हिँड्न गाह्रो भएको मामलामा कांग्रेस र कम्युनिस्ट उस्तै हुन यो विषय गम्भीरतापूर्वक रुपमा सम्पत्ति कमाउने र पार्टीभित्र अभिजात वर्ग बन्न पाइन्छ ?’, न्यौपानेले प्रश्न गर्दै भने, ‘यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ । पार्टीमा नवधनाढ्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि चुनौती हो ।’

केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुति सुरु भएको छ । प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका हुन् ।

शुक्रबार समूह–२ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले समूहको तर्फबाट प्रतिवेदन पेश गरेका छन् । समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन माघ १९ गतेसम्मका लागि राष्ट्रिय सभाको हल बुकिङ भएको छ ।