एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा म्यानमारमा जस्तै नरसंहार हुनसक्ने चेतावनी दिएका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को योजनामा भारतमा मुस्लिम समुदायमाथि नरसंहार हुनसक्ने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएका हुन् ।
म्यानमारमा रोहिंग्या मुस्लिममाथि त्यहाँको सेनाले नरसंहार गरेको आरोप लाग्दै आएको छ । अन्तर्राष्ट्रिय न्यायालयले पनि म्यानमारलाई नरसंहार रोक्न निर्देशन दिइसकेको छ ।
टर्कीको समाचार एजेन्सी अनादोलुसँगको कुराकानीमा खानले बीजेपीले भारतमा रहेका मुस्लिम समुदायलाई विभाजित गर्ने प्रयास गरिरहेको भन्दै भर्खरै लागू भएको नागरिकता कानूनले ठूलो संख्यामा मानिसहरु नागरिकताको अधिकारबाट बञ्चित हुने बताए ।
‘म्यानमारमा यस्तै भएको हो । पहिला त्यहाँ रेजिस्ट्रेशन कानून ल्याइयो र पछि मुस्लिमहरुलाई बाहिर पठाइयो । त्यसपछि त्यहाँ नरसंहार भयो । भारत पनि त्यही दिशामा अग्रसर भइरहेको छ भनेर मलाई डर लागिरहेको छ’, प्रधानमन्त्री खानले भने ।
प्रतिक्रिया