कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण भएको अस्पताल सेनालाई जिम्मा दिइयो

कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण भएको अस्पताल सेनालाई जिम्मा दिइयो


एजेन्सी – नोवेल कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण भएको अस्पतालको जिम्मा चिनियाँ जनमुक्ति सेनाले लिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि जनवरी २५ देखि निर्माण थालिएको अस्पतालको सञ्चालन भोलिदेखि पूर्ण रुपमा हुनेछ ।

वुहानको वर्कर्स सेन्टोरियममा निर्माण भएको हुवोसनशान अस्पताल निर्माणमा दिन रात सात हजार बढी कामदार परिचालित भएका थिए।

सोमबारबाट सञ्चालनमा आउने अस्पतालमा चिनियाँ जनमुक्ति सेनाका एक हजार चार सय स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन्। ९ दिनमा तयार भएको यस अस्पताललाई त्यहाँको स्थानीय सरकारले सेनालाई आइतवार हस्तान्तरण गरेको हो ।

यसका लागि चिनियाँ सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सि जिनफिङले स्वीकृति दिएका हुन् । यहाँ परिचालित हुने स्वास्थ्यकर्मीहरुमध्ये ९५० जना जनमुक्ति सेनाको जोइन्ट लजिस्टिक सपोर्ट फोर्सले सञ्चालन गरेको अस्पताल र ४५० जना पीएलए ग्राउण्ड फोर्स मेडिकल युनिभर्सिटी, पीएलए नेभी मेडिकल युनिभर्सिटी, पीएलए एयरफोर्स मेडिकल युनिभर्सिटीका स्वास्थ्यकर्मीहरु हुन् ।

त्यस्तै टोलीमा पीएलएको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञ र पीएलए मिलिटरी साइन्सको मिलिटरी मेडिकल इन्स्टिच्यूटका विज्ञहरु छन् ।

यस अस्पताल निर्माणका लागि सात हजार कामदार परिचालित भएका थिए । जसमध्ये एक हजार निर्माण मेसिन तथा ट्रकहरु परिचालित भएका थिए । अस्पतालमा ४१९ वार्डमा १ हजार शैया रहेको छ । त्यस्तै ३० वटा आइसीयु कक्ष रहेको छ ।