ओटावा – ब्रिटिस कोलम्बियामा स्थानान्तरण भइसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेघान मर्केलको सुरक्षाका लागि क्यानडा सरकारले भुक्तानी गर्नु नहुने हालै गरिएको एक अध्ययनले देखाएको छ ।
यो विषयमा क्यानडाका मानिसको स्पष्ट मत छ कि क्यानडाले प्रिन्स ह्यारी र उनकी पत्नीको सुरक्षा गर्नुहुदैन । प्रिन्स ह्यारी र उनकी पत्नीले राजपरिवारको वरिष्ठ पद छोडिसकेका छन् ।
सीटीभीका लागि नानोस रिसर्चले जुन मानिसहरुसँग कुराकानी गरेको थियो, उनीहरुमध्ये ७७ प्रतिशतले क्यानडाका करदाताले ड्यूक तथा डचेस अफ ससेक्सका लागि खर्च गर्न नहुने बताएका छन् ।
किनकी उनी क्यानडाको महारानीको प्रतिनिधिको रुपमा रहेका छैनन । केवल १९ प्रतिशत क्यानेडियनले बेलायतको शाही परिवारको सदस्यको सुरक्षाको खर्च उनको देशद्वारा वहन गर्न कुनै आपत्ती नभएको बताएका छन् ।
ह्यारी र मेघानको सुरक्षा खर्च कस्ले बेहोर्छ भन्ने विषयमा हालसम्म कुनै आधिकारिक घोषणा भएको छैन ।
यद्यपि क्यानडाको प्रशासनले यो विषयमा चर्चा चलिरहेको संकेत गरेको छ । सर्भेमा क्यानडाका १००० भन्दा बढी मानिससँग कुराकानी गरिएको थियो ।
प्रतिक्रिया