संगितमय बालुवाटार : ओलीले बासुरी बजाए, माधव र झलनाथले सारंगी रेटे !

संगितमय बालुवाटार : ओलीले बासुरी बजाए, माधव र झलनाथले सारंगी रेटे !


काठमाडौं – आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो ।

‘यो सारंगी साँझ हो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो ।’

थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धुनमा उपस्थित सबै चकित भएका थिए । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए ।

केही दिनअघि बालुवाटारमै नेकपाका सांसदहरुलाई भोज दिएका ओलीले मंगलबार साँझ ‘सारंगी साँझ’ को आयोजना गरेका हुन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकपछि ओलीले नेताहरुका लागि निरन्तर भोजको आयोजना गरिरहेका छन् ।

माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रि भोज दिएलगत्तै ओलीले बालुवाटारमा अर्को राजनीतिक जमघट गरेका हुन् ।

कार्यक्रममा ९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयका सदस्यहरु, प्रधानमन्त्री ओली, मन्त्रीहरु सहभागी थिए ।