कोरोना भाइरसबाट चीनमा ४९० जनाको मृत्यु, २४३२४ संक्रमित

कोरोना भाइरसबाट चीनमा ४९० जनाको मृत्यु, २४३२४ संक्रमित


एजेन्सी – चीनको हुवेई प्रान्तको वुहानमा कोरोनाभाइरसबाट हालसम्म ४९० को मृत्यु भएको छ । २४ हजार भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।

विश्वभरी फैलिएकाले कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनले पहिलेनै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । कयौं देशले चीनका लागि हुने उडान समेत रद्ध गरेका छन् ।

कोरोनाभाइरसका कारण चीनमा लगातार मृत्युको आंकडा बढ्दै गइरहेको छ । चिनियाँ स्वास्थ्य अधिकारीलाई उद्र्धृत गर्दै पीटीआईले ४९० को मृत्यु भइसकेको र २४३२४ मानिस संक्रमित भएको जनाएको छ ।

चीनको हुबेइ प्रान्त कोरोनाको केन्द्र बनेको छ । मंगलबारको सबै ६५ मृत्यु हुबेइको वुहानमा भएको थियो । मंगलबार ४३१ मानिसको अवस्था गम्भीर भएको र २६२ लाई अस्तालबाट घर पठाइएको छ । १.८५ लाख मानिसको मेडिकल जाँच भइरहेको छ ।

कोरोनाबाट चीनमा मृत्यु हुनेको आंकडा २००३–२००४ मा बेइजिङमा सार्स भाइरसको भन्दा बढी भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २० भन्दा बढी देशमा कोरोनाका बिरामी भेटिएका छन् । कयौ देशले एयरलिफ्ट गरेर आफ्ना नागरिकलाई चीनबाट स्वदेश ल्याउन थालेका छन् ।

चीनमा मास्कको अभाव, अन्य देशबाट मागियो सहयोग

यसैबीच चीलने कोरोना भाइरसका उपचारका लागि १० दिनभित्र १००० सैयाको अस्पताल तयार गरेको छ । १३०० सैयावाला अर्को अस्पताल बुधबार तयार हुने भएको छ । दिन प्रतिदिन चीनमा कोरोनाको कहर बढ्दै गएको छ । १.४ अर्ब जनसंख्या रहेको चीनमा कोरोनासँग लड्नका लागि मेडिकल उपकरणको कमी हुन थालेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइंगले भनेका छन्, “चीनमा मेडिकल उपकरणको कमी हुन थालेको छ । चीनलाई तत्कालै मेडिकल मास्क, मेडिकल गाउन तथा सुरक्षित चस्माको आवश्यकता परेको छ ।”

चीनको उद्योग मन्त्रालयका अनुसार चीनमा सामान्य परिस्थितिमा दैनिक २ करोड मास्कको उत्पादन हुने गरेको थियो । तर कोरोनाको संक्रमणका कारण कारखानाले आजकल ६० देखि ७० प्रतिशत मात्रै उत्पादन गर्न सफल भएका छन् । यद्यपि चीनलाई दक्षिण कोरिया, जापान, काजाकस्थान र हंगेरीले मास्क पठाएका छन् ।