बेइजिङ – चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला चेतवानी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसकै संक्रमणका कारण मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम तथा विश्व स्वास्थ्य संगठनले कोरोनाको पहिलो चेतावनी दिने डा . लि वेनलियाङको मृत्युको खबर दिएका थिए । तर पछि वुहान केन्द्रीय अस्पतालले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य गम्भीर रहेको र उनको जीवन बचाउने हरसम्भव प्रयास भइरहेको बताइएको थियो ।
कोरोना भाइरसबाट संक्रमित डा. उनी काम गरिरहेको अस्पताल, पछिल्लो समय उनको उपचार भएको वुहान अस्पतालले पछि उनको मृत्यु भएको पुष्टि गरेको हो ।
बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पनि पत्रकार सम्मेलनमार्फत डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी भएको बताएको थियो ।
चिनियाँ मिडियाका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ डा वेनलियाङले ३० डिसेम्बरमा उनले आफ्नो साथीलाई केही बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको जानकारी दिएका थिए । उनले जानकारी दिएको तीन दिनपछि स्थानीय प्रहरीले यसबारे नबोल्न र भ्रम नफैलाउन चेतावनी दिएको थियो । प्रहरीले भनेको थियो, ‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस् ।’
अन्तत:चिकित्सक वेनलियागङ कै कुरा सत्य सावित भयो ।
कसरी संक्रमित बने कोरोनाको चेतावनी दिने पहिलो चिकित्सक ?
३४ वर्षीया डा. वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ’हिरो’ को रुपमा प्रस्तुत गरिएको छ । डा. वेनलियागङले सही समयमै सबैलाई सचेतता अपनाउन भनेका थिए । सुरुआतमा ’हल्लाबाज’ को संज्ञा पाएका वेनलियागङलाई त्यसको एक महिनापछि भने हिरोको संज्ञा पाएका थिए ।
उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए । सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो ।
जनवरीमा डाक्टर डा. वेनलियाङले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरेका थिए । उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए । जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए । पछि डा. वेनलियाङले एक महिलाको उपचार गर्नुपर्ने थियो ।
ती महिलामा नयाँ नोबेल कोरोना भाइरसको संक्रमण भएको डा. वेनलियाङलाई जानकारी थिएन। फलस्वरुप, ती महिलाको उपचारकै क्रममा डा. वेनलियाङ पनि कोरोनाबाट संक्रमित बनेको चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् । उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ ।
जनवरी १० मा ती चिकित्सकले आफूलाई कफ भएको विबोमा बताएका थिए । त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए । उनको परिवार नै बिरामी पर्यो ।
डा. वेनलियाङमा नयाँ कोरोना संक्रमण भएको १० दिनपछि, जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो । चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो । पछि विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्यो ।
प्रतिक्रिया