एजेन्सी – नेपालमा सिजन सुरु भएपछि अंगुर प्रति किलो १०० रुपैयाँ देखिनै पाउन सकिन्छ । तर एक गुच्छा अंगुरको मूल्यनै १२ लाख रुपैयाँ पर्छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।
हो जापानमा मानिसले १२ लाख रुपैयाँमा अंगुरको एक गुच्छा किनिरहेका छन् । यो रातो जातीको अंगुरको नाम रुबी रोमन हो । यो विशेष प्रजातीको एउटा अंगुरको वजन करिब २० ग्राम हुन्छ । एक गुच्छामा करिब २४ अंगुर हुन्छ ।
उच्च मूल्यका कारण यो रातो अंगुर विशेषगरी धनीको फलको रुपमा चिनिँदै आएको छ । १२ वर्ष पहिले अंगुरको यो खास प्रजाती इशिकावा प्रान्तको सरकारले विकसित गरेको हो । यो अंगुरको स्वाद पनि अत्यन्त मीठो हुन्छ ।
जापानमा रातो अंगुर विलाशी फलको श्रेणीमा पर्छ । जापानमा यो फललाई शुभ अवसरमा उपहारको रुपमा दिने गरिन्छ । तर रुबी रोमन जापानमा सजिलैसँग प्राप्त हुँदैन । त्यसैले यसको मूल्य यती महँगो पर्न गएको हो । कनाजावाको थोक बजारमा मंगलबार यस अंगुरको कीर्तिमानी मूल्य लगाइएको थियो ।
लीलामीमा अंगुरको एक गुच्छालाई ह्याकुराकुसो नामको एक कम्पनीले ११ हजार डलर अर्थात १२ लाख रुपैयाँ भन्दा पनि बढी तोकेको हो । इशिकावा सहकारी समितीका अनुसार कम्पनीले सेप्टेम्बरसम्म रुबी रोमन प्रजातीको यो अंगुरको करिब २६ हजार गुच्छा निर्यात गर्नेछ ।
प्रतिक्रिया