एजेन्सी – थाइल्यान्डको राजधानी बैंककको उत्तरपूर्वस्थित नकोन रेटचासीमा एक जवानले गोलीबारी गर्दा २० को मृत्यु भएको छ । उक्त गोलाबारी गर्ने सैनिक पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।
बीबीसीका अनुसार जकराफंथ थोमा नामक जुनियर अफिसरले सैन्य क्याम्पबाट हतियार चोर्नु पहिले आफ्नो कमाण्डिङ अफिसरमाथि हमला गरेका थिए ।
त्यसपछि उनले उत्तर–पूर्वी बैंककको सपिङ सेन्टर तथा बौद्ध मन्दिरमा गोलीबारी गरेका थिए । घटनास्थलमा १६ जनाको मृत्यु भएको र ४ को अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले पुष्टि गरेका छन् ।
यो घटनामा ३१ घाइते भएको र यस मध्ये १० को अवस्था गम्भीर भएको उनले बताए । मर्ने र घाइते हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरिएको छ ।
स्थानीय मीडियाको फुटेजमा हमलावर आफ्नो कारबाट सपिङ सेन्टरको बाहिर निक्लिएर मानिसमाथि गोली बर्साएको देखिएको छ । कैयौं फुटेजमा भवनको बाहिर आगो लागेको देखिएको छ ।
केही रिपोर्टका अनुसार गोली लाग्नाले एक ग्यास सिलिन्डर पड्केको थियो र यसैबाट आगो लागेको थियो । संकास्पदले आफ्नो एक तस्बिर सोशल मीडियामा पोस्ट गरेका थिए, जसमा उनी आगोको अगाडि उभिएका थिए ।
शंकास्पद व्यक्तिको उद्देश्य के थियो भन्ने बारेमा अझै स्पष्ट भएको छैन । हमलाको समयमा शंकास्पद व्यक्तिले मीडियामा पोस्ट पनि गरिरहेका थिए ।
फेसबुकले अब यी व्यक्तिको पेजलाई हटाइदिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओचाले घटनालाई नियालिरहेको र उनले मारिएका मानिसको परिवारप्रति समवेदना प्रकट गरेको सरकारका एक प्रवक्ताले बताएका छन् ।
जनस्वास्थ्य मन्त्रीले मानिसलाई घटनास्थल नजिक रहेका अस्पतालमा गएर रक्तदान गर्नका लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया