सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाः डढेलो निभ्यो, जनजीवन प्रभावित

सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाः डढेलो निभ्यो, जनजीवन प्रभावित


अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा भएको छ । वर्षापछिका बाढीका कारण त्यहाँ यातायात र जनजीवन प्रभावित भएको छ ।वर्षाका कारण हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

उक्त क्षेत्रमा विगत चार दिनको अवधिमा झन्डै ४०० मिलिमिटर पानी परेको त्याहाँको मौषम विज्ञान सम्बन्धि निकायले जनाएको छ । सो निकायले बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी समेत जारी गरेको छ । वर्षाका कारण झन्डै एक लाख घरमा बिजुली सेवा अवरुद्ध भएको छ ।

वर्षाले जनजीवनका अन्य क्षेत्र प्रभावित भएपनि लामो समयदेखि लागेको डढेलो निभ्नाले भने केही राहतको महशुस गरएको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा डढेलो फैलिएको थियो ।

अस्ट्रेलियामा डढेलोका कारण हजारौँ मानिस भागेर समुद्री तटतर्फ गएका थिए ।

विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ । उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरेका थियो ।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ ।

समुद्री तटमा भीमकाय छाल आउन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा न्यू साउथ वेल्सका ३१ ठाउमा डढेलो लागिरहेको थियो ।

भीषण वर्षापछि वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा केही भएपनि राहात मिलेको छ ।

अस्ट्रेलियाकै बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ ।

सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् ।

सोमवार बिहान त्यहाँको रेल तथा डुंगा सेवा अवरुद्ध भएको छ । सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्लेटफर्म पानीमा डुबेका छन् । दर्जनौँ स्कूल बन्द रहेका छन् ।