इरानी मिसाइल आक्रमणमा १०९ जना अमेरिकी सैनिक घाइते

इरानी मिसाइल आक्रमणमा १०९ जना अमेरिकी सैनिक घाइते


एजेन्सी – यसै वर्षको जनवरीमा इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको मिसाइल आक्रमणमा १ सय ९ अमेरिकी सैनिक घाइते भएको अधिकारीहरुले स्वीकार गरेका छन् ।

आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । हाल यो संख्या बढेर १ सय ९ जना पुगेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा इरानले मिसाइल आक्रमण गरेको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) को शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ ।

घाइते सैनिकको संख्या सुरुको तुलनामा दोब्बरले वृद्धि भएपछि रिपब्लिकन पार्टीकी सांसद जोनी अर्नेस्टले यसबारे प्रश्न उठाएकी छन् ।

गत महिना ट्रमाटिक ब्रेन इन्जुरीबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले टीबीआई धेरै चिन्ताजनक विषय नभएको बताएका थिए ।

अमेरिकी सेनाका अनुसार युद्धग्रस्त क्षेत्रमा टीबीआई सामान्य हो । यो विशेष गरेर विस्फोटका दौरान हुनेगर्दछ ।

विस्फोटको कारण सैनिकको मस्तिष्कमा चोट पुग्ने गरेको अमेरिकी सेनाले बताएका छन् । सन् २००० यता ४ लाख अमेरिकी सेनामा टीबीआई भेटिएको अमेरिकी सरकारको तथ्यांक छ ।