एजेन्सी – कोरोनाभाइरसका कारण चीनमा खाद्यान्न लगायत सबै बस्तुको मूल्य आकासिएको छ ।
जनवरीमा चीनको उपभोक्ता मूल्य मुदास्फीति ५.४ प्रतिशत पुगेको त्याहाँको राष्ट्रिय तथ्यांका विभागले जनाएको छ । गत महिनाको मूल्य वृद्धि २०११ को अक्टोबरदेखिकै तीव्र दरमा वृद्धि भएको थियो ।
उक्त समयमा चीनले महिनौदेखि उकालो लागेको मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिरहेको थियो ।
चिनियाँ उपभोक्ताको खर्चमा झन्डै एक तिहाई हिस्सा ओगट्दै आएको खाद्यान्नको मूल्य सर्वाधिक उकालो लागेको छ । सुगुरमा लागेको रोगका कारण चिनियाँहरुको प्रमुख खानाको रुपमा रहेको सुगुरको मासु गत वर्षको तुलनामा ११६ प्रतिशतले वृद्धि भएको छ ।
तरकारी पनि १७ प्रतिशतले महँगो भएको छ । यसको तुलनामा अन्य बस्तुको मूल्यमा मन्द मात्रै वृद्धि भएको छ । स्वास्थ्य सेवा २.३ प्रतिशतले महँगिएको छ भने लुगाको मूल्यमा ०.६ प्रतिशतको मात्रै वृद्धि भएको छ ।
मूल्य वृद्धि हुनुमा कोरोनाभाइरस कारण भएको स्वीकारोक्ति तथ्यांक विभागको पनि रहेको छ । विशेषगरी कोरोनाभाइरस र लुनार नयाँ वर्षको विदाका कारण पनि मूल्य वृद्धि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो गत वर्ष फेब्रुअरीमा मनाइएकोमा यो वर्ष जनवरीमै मनाइएको छ ।
कोरोनाभाइरसले उत्पादन र यातायातको संजाल अवरुद्ध भएकाले मूल्य उकालो लागेको सिटीका अर्थशास्त्रीहरुले बताएका छन् ।
दर्जनौं चिनियाँ सहरहरु भाइरसको रोकथामकमा लागि बन्द गरिएका छन् । सरकारी अधिकारीले विदाको समय लम्ब्याएकाले कतिपय कारखाना र व्यवसाय बन्द रहेका छन् ।
प्रतिक्रिया