काठमाडौँ–चार नम्बर प्रदेशका एआईजी कमलसिंह बमका छोरा सुगमलाई ठमेलमा पक्राउ गरेको घटनामा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्स्पेक्टर देउप्रसाद लिम्बुलाई छानबिन गर्न बोलाएको छ ।
शुक्रबार मध्यराति सुगमसहित तीन युवकलाई ठमेलबाट पक्राउ गरि थुनामा राखेर कुटपिट गरेको भन्दै सुगमले दिएको उजुरीमाथि लिम्बुलाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले बयानका लागि बोलाएको हो ।
घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रामकृपाल शाहको नेतृत्वमा तीन सदस्यीय टोली बनाएर छानबिन सुरु गरेको छ ।
यस्तो थियो घटनाः
‘गुड फ्राइडे’ मनाउन ठमेल पुगेका युवकले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेपछि घटनाले नयाँ माेड लियो । ठमेलमा एक युवक प्रहरीमाथि नै जाइलागेपछि घटनाले नयाँ मोड लिएको थियो ।
ठमेलमा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति नियमित ड्युटीका क्रममा ठमेल पुग्यो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति २५ वर्षीय सुगम बमसहित ६–७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।
तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले प्रदेश न ४ का एआईजी कमलसिंह बम (बुबा) को धाक लगाउँदै ‘तिमीहरु जस्ता ४–५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले । त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्यो । सुगम प्रहरीमाथि नै जाइलागे । प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्योएर रातभर राख्यो ।
बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी दिए ।
सुगमको एउटा कुरा र प्रहरीको अर्को कुरा भएपछि हरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले एकैसाथ तदारुपता देखाएको हो ।
प्रतिक्रिया