काठमाण्डु– नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनले गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा उनले एक लाख रुपैयाँ घुस दिएका थिए ।
‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो,’ अभियोगपत्रमा भनिएको छ ,‘ यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया