गुणस्तर प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय

गुणस्तर प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवाप्रवाह गर्ने राहदानी विभागले विकसित प्रविधिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।  विभागले आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्तरुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ ।”

मन्त्री महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय राहदानी विभाग बन्नु गौरवको विषय हो भन्नुभयो । उहाँले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

मन्त्री महराले प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१ः २०१५’ पाउने पहिलो सरकारी निकाय हो ।