चोभारमा सुख्खा बन्दरगाहको निर्माणले गति लियो

चोभारमा सुख्खा बन्दरगाहको निर्माणले गति लियो


काठमाडौं– हिमाल सिमेन्ट उद्योग रहेको चोभारमा अबको करिब १८ महिनाभित्र सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सरकारले तोकेको समयमै पूरा गर्ने गरी काम सुरु गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माण गर्न २ ठेकेदार छनोट गरी काम सुरु गरिसकेको छ ।

अबको १८ महिनाभित्र बन्दरगाह पूरा हुने गरी कामले गति लिएको समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए । बन्दरगाह निर्माण गर्न १ अर्ब ४४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बस्नेतका अनुसार बन्दरगाहमा भन्सार छुटाउने, क्वारेन्टाइन जाँच तथा गोदामलगायत सुविधा हुनेछ । वीरगन्ज, विराटनगर र भैरहवा नाकाबाट सिधै चोभारमा लागत र समय घट्ने समितिको दाबी छ ।

बन्दरगाहमा एकै पटक ६ सय कन्टेनर पार्किङ गर्न सकिने जनाइएको छ । काठमाडौं उपत्यका भित्रिने ट्रक र कन्टेनर पार्किङस्थल नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएकाले पनि अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण अघि बढाइएको हो ।

जर्मन सहयोगमा निर्माण भएको र अहिले बन्द रहेको हिमाल सिमेन्ट उद्योगको करिब २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा बन्दरगाह बन्नेछ । उपत्यकामा भित्रिने मालसामान आयात तथा निर्यातमा सहज पुर्याउने बन्दरगाहको उद्देश्यले रहेको समितिले जनाएको छ । अब भारतको कोलकाता, विशाखापटनम र चीनको केरुङबाट सोझै काठमाडौंमा सामान आयात हुनेछ ।