नेपाली जनतामा यतिवेला राष्ट्रियताको भावना अभूतपूर्व रूपमा जागृत भएको छ, जीवन–मरणको सवाल बनेर आएको छ । नेपाल मात्र होइन, संसारमै राष्ट्र र राष्ट्रियता यस्ता मर्मस्पर्सी भावना हुन्, जसका कारण ठुल्ठूला संघर्ष र लडाइँ भएका छन् । राष्ट्रियताको भावनाले सिद्धान्तका सीमा नाघेका प्रशस्तै उदाहरण छन् । नेपाली जनता यतिवेला यही राष्ट्रियताको लडाइँमा होमिएका छन् ।
नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’भन्दा अगाडि राष्ट्रवादसम्बन्धी अवधारणा रहेको कुनै इतिहास भेटिँदैन । पृथ्वीनारायणले ‘राष्ट्रवाद’ शब्दको प्रयोग नगरे पनि ‘दिव्योपदेश’मार्फत उनले विदेशीवस्तुको उपभोग र आयातलाई निरुत्साहित गर्ने मात्र होइन, यसलाई प्रतिबन्धसमेत लगाएर संरक्षणवादी नीति–निर्माण गरेका थिए । मल्लकालमा मल्लराजाहरूको औषधोपचारका नाममा छिरेर नेपालमा (विशेषतः काठमाडौं उपत्यकामा) क्रिस्चियन धर्म प्रचार गर्ने केपुचिन पादरीलाई यिनले देश निकाला गरेका थिए भन्ने उल्लेख इतिहासमा पाइन्छ । यहाँ स्मरणीय के पनि छ भने क्रिस्चियन मिसनरीहरूलाई देशनिकाला गरेका कारण भारतको सीमावर्ती गाउँ–सहरबाट तिनीहरूले नेपालको राज्यसत्ता कमजोर पार्न विभिन्न गतिविधि सञ्चालन गरेका र पछि राणा शासनको समयमा नेपालभित्र पुनः छिरेर यो क्रमलाई अझ अघि बढाएका थिए भन्ने पनि प्रशस्तै दृष्टान्त पाइन्छन् ।
नेपालको राष्ट्रियताका सम्बन्धमा दुई फरक धारणा विकसित भएको पाइन्छ । पहिलो, जनजाति केन्द्रित राष्ट्रियता तथा दोस्रो उपनिवेशवाद–साम्राज्यवादविरोधी राष्ट्रिय स्वाधीनता र सम्प्रभुताको राष्ट्रियता । नेपालका जनजाति अधिकारकर्मीले नेपाल एकीकरणयताको २४० वर्षमा शासकले गैरहिन्दूलाई हिन्दूकरण गर्न राष्ट्रवादको अस्त्र प्रयोग गरेको भन्दै गैरहिन्दू जनजातिको धर्म–संस्कृति र जातीय विकासका निम्ति हिन्दू राष्ट्रवाद तगारो बनेको भन्ने जस्ता गुनासा रहेकोमा ०७२ सालको संविधानले सो समस्यालाई सम्बोधन गरिसकेको मान्न सकिन्छ ।
खासगरी, राष्ट्रियताको भावना, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित रहेको छ । संसारमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका निम्ति ठुल्ठूला आन्दोलन, संघर्ष र युद्ध भएका छन् । दोस्रो विश्वयुद्धअघिसम्म संसारका अधिकांश मुलुक पराधीन वा उपनिवेश थिए । दोस्रो विश्वयुद्धमा तत्कालीन समाजवादी शिविरको नेतृत्वकर्ता सोभियत संघको अगुवाइको गठबन्धनले जापान–जर्मन गठबन्धनलाई परास्त गरेपछि संसारका कैयौँ मुलुकले एकैपटक मुक्तिको सास फेर्न पाएका थिए । त्यसपछिको केही वर्षमा ब्रिटिस उपनिवेशवाद पनि परास्त बन्ने र थप मुलुक स्वतन्त्र बन्ने क्रम चल्यो । यिनै सेरोफेरोमा चीनमा जापानी र भारतमा ब्रिटिस उपनिवेशवाद पनि परास्त भई ती मुलुक स्वतन्त्र भएका थिए ।
ब्रिटिस साम्राज्यवादले नेपाललाई पनि आफ्नो उपनिवेश बनाउन कोसिस नगरेको होइन, तर सफल हुन सकेन । वीर नेपाली पुर्खाका कारण नेपाल पराधीन हुन नपरे पनि सत्तास्वार्थका कारण राणाहरूले तिनै ब्रिटिस उपनिवेशवादीको पाउ परेका कारण नेपाल अर्धउपनिवेश बन्न पुग्यो । भारत स्वतन्त्र भइसकेपछि ब्रिटिस उपनिवेशको उत्तराधिकारी बनेर भारतले नेपालमाथि हस्तक्षेपकारी गतिविधि सुरु गरी हालसम्म जारी राखेको छ । आफू स्वतन्त्र भइसकेपछि भारतले पाकिस्तानलाई विभाजित गराएको मात्र होइन, स्वतन्त्र पहाडी राज्य सिक्किमलाई आफूमा बिलयसमेत गराएको छ । उसले भुटानलाई अधीनस्थ बनाइराखेको छ । भारतले नेपालमाथि आफ्नो विस्तारवादी र हैकमवादी प्रवृत्ति बढाउँदै लगेको छ ।
नेपालको सन्दर्भमा विगतमा ब्रिटिस उपनिवेशवादबाट मुलुकको स्वाधीनता जोगाउनु राष्ट्रवाद थियो भने ब्रिटिस उपनिवेशवादको पतनपश्चात् भारतीय विस्तारवादबाट नेपालको भूगोलको रक्षा गर्नु, भारतीय हैकमवादसमेत अमेरिकीलगायत साम्राज्यवादी शक्तिबाट आफ्नो स्वाधीनता र स्वतन्त्र अस्तित्व जोगाउनु नै नेपालको राष्ट्रियताको मुख्य सवालका रूपमा रहेको छ, यतिवेला ।
राष्ट्रवाद वा राष्ट्रियता पुँजीवादको प्राण हो भने अन्तर्राष्ट्रियतावाद समाजवाद, साम्यवादको । अर्थात् राष्ट्रवाद पुँजीवादी सिद्धान्तसँग सम्बन्धित छ भने अन्तर्राष्ट्रियतावाद कम्युनिस्ट सिद्धान्तअनुकूल छ । प्रश्न उठ्छ, त्यसो भए नेपालका कम्युनिष्ट किन यतिविधि राष्ट्रियतावादी ? माओवादी केन्द्रनिकट एकजना वामपन्थी लेखकले ‘म कम्युनिस्ट हुँ, राज्य विखण्डन भए हुन्छ, मलाई केही फरक पर्दैन, फलानोको माग पूरा हुनुपर्छ’ भन्नुभयो भनेर कुनै कार्यक्रममा बोलेको खबर छापिएको थियो । वास्तवमा उहाँको विचार गलत हो । कम्युनिस्ट सिद्धान्तको कखरा मात्रै पढेकाहरूले पनि कुझ्ने कुरा के हो भने वर्ग र राज्य जुम्ल्याहा दाजुभाइ हुन्, यिनीहरू सँगै जन्मे र सँगै मर्छन् । अवर्गीय आदिम साम्यवादपछि वर्गीय दासयुग प्रादुर्भाव भयो र राज्य पनि सँगै जन्मियो । पूरै दासयुग र सामन्तवादी युगभरि नै वर्ग र राज्य दुवै सँगसँगै रहे । पुँजीवादभरि पनि यी दुवै तत्व सँगसँगै जानेवाला छन् भन्ने पनि स्वयंसिद्ध तथ्य छ, माक्र्सवादले पनि यही भनेको हो । संसारमा मान्छेद्वारा मान्छेमाथि गरिने शोषणको उच्च चरण पुँजीवादको अन्त्यसँगै यी दुवै तत्व पनि क्रमशः कमजोर हुँदै जान्छन् । समाजवादमा श्रमजीवी वर्ग र उसकै राज्यसत्ता कायम हुन्छ । तर, यो व्यवस्थाले ती तत्वलाई निष्प्रभावी बनाउँदै लैजान्छ । र, मानव समाजको उद्विकासको क्रम अर्थात् समाजवादबाट साम्यवादमा पदार्पण गर्ने चरणमा प्रवेश गर्दा राज्य, वर्ग, दण्ड, व्यभिचार सबै चिज नष्ट हुन्छन् र समाज स्वचालित ढंगले अघि बढ्छ ।
कम्युनिस्टहरू नेपालका मात्र होइनन्, संसारभरि नै देशभक्त हुन्छन् । वर्गीय व्यवस्था रहेसम्म राज्य कायमै रहने भएकाले कुनै पनि देशका कम्युनिस्टले आफ्नो मुलुकलाई राज्यविहीनताको अवस्थामा लैजान खोज्नु भनेको उपनिवेश बन्न खोज्नु जस्तो मात्र हुनेछैन, अर्काको दासत्व स्विकार्नु नै हुनेछ र आँखाअगाडि आमाको चीरहरण गर्न दिएसरह हुनेछ । त्यसैले कम्युनिस्टहरूका निम्ति देशभक्ति र राष्ट्रियता आमाजत्तिकै प्यारो हुन्छ । त्यसैले, नेपालको सन्दर्भमा भन्नुपर्दा देशभक्ति र राष्ट्रियताको अर्काे नाम नेपाली कम्युनिस्ट आन्दोलन नै हो, यसलाई संरक्षण गरेर मात्र नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ, समाजवाद स्थापना गर्न सकिन्छ । देसै नरहे कहाँ समाजवाद स्थापना गर्ने ?
(पोखरेल मानवशास्त्रका अध्येता हुन्)
नयाँ पत्रिकाबाट साभार
प्रतिक्रिया