पाइलैपिच्छे षडानन्दको सम्झनामा

पाइलैपिच्छे षडानन्दको सम्झनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्री १०८ आबाल ब्रह्मचारी बालागुरु षडानन्दको मंसिर १९ गते एक सय ८२ औं जन्मजयन्ती मनाइसकिएको छ । बालागुरु षडानन्द, षडानन्द अधिकारीका रूपमा विसं १८९२ मा भोजपुरको दिङ्ला केउरेनीपानी- ६ (हालको षडानन्द नपा-३) गडीगाउँमा जन्मिएका थिए ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रूपमा विवाह पञ्चमीका दिन उनको जन्म भएको थियो । उनले श्री १०८ उपाधि प्राप्त गरे । उनी आबाल ब्रह्मचारी रहे । त्यसकारण यिनी आबाल बह्मचारी षडानन्द बालागुरुका नामले प्रसिद्ध छन् ।
षडानन्दको जन्मजयन्तीमा मात्र नभएर उनको सम्झनालाई संस्थागत रूपमै सम्झना गरिन थालेको छ । बालगुरुले राणाशासनकालमा पनि पहिलोपटक संस्कृति पाठशाला निर्माण गरेर सर्वसाधारण जनताका छोराछोरीलाई अध्यनअध्यपनको वातावरण सुरु गरे ।
गर्भे टुहुरा जन्मिएका उनलाई दैवीशक्ति प्राप्त थियो भन्ने विश्वास रहिआएको छ । त्यो समयमा उनले दुःखले शिक्षा आर्र्र्जन गरे, कठोर तपस्या गरे, योगसाधना गरे फलतः शिक्षाको ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टांगयोग साधकका रूपमा स्थापित बने । एक सय ८२औं जन्मजयन्तीसम्म आइपुग्दा स्थानीयले उनलाई यसरी सम्झँदै गरेको पाइयो ।
नगरपालिकाको नाम षडानन्द
भर्खरै राज्यले गठन गरेको नगरपालिकाको नाम स्थानीयवासीले षडानन्द नगरपालिका राखेका छन् । केउरेनीपानी, मूलपानी क्षेत्रमा पर्ने चर्चितस्थल दिङ्ला नै नाम राख्नु उपयुक्र्त भए पनि षडानन्दको उच्च कदर गर्न नगरपालिकाको नाम नै राखेको स्थानीय सुमन राईले बताए । नामै राख्न धेरैले वादविवाद र झगडासमेत गरे पनि यस क्षेत्रमा षडानन्दको नाम जोडिनसाथ सबै राजनीतिक दलसमेतले स्वीकार गरे ।
गाडी नम्बर १०८
नवगठित षडानन्द नगरपालिकाले फोहोर व्यवस्थापनका लागि किनेको ट्रिपर गाडीको नम्बर पनि श्री १०८ आवाल ब्रम्हचारी षडानन्द बालागुरुको उपाधिसँग मिल्दोजुल्दो छ । कार्यालयले योजनाभन्दा पनि सञ्जोगले गाडीको नम्बर को १ ग १०८ रहन गएको नगरपालिकाले बताएको छ ।
पूर्वमा संस्कृत शिक्षाको सुरुवात गरेर शिक्षाको ज्योति फैलाएका षडानन्दको उपाधिसँग गाडी नम्बरसमेत मिलेपछि युवापुस्तालाई उनको सम्झना ताजा भइरहने युवा उमेश अधिकारी बताउँछन् ।
विसं. १९३२ देखि २००७ सालसम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा ७५ वर्षसम्म बालागुरु षडानन्दको साहसका कारण दिङ्लाले पूर्वाञ्चलमा शिक्षाको उज्यालो देखाएको प्रस्ट हुन्छ ।
१०८ आवाल ब्रम्हचारी षडानन्द अधिकारीको नामबाट नामकरण गरिएको भोजपुर दिङ्लास्थित नगरपालिकाले खरिद गरेको ट्रिपरको नम्बर पनि १०८ आठ नै पाउनु सौभाग्य भएको स्थानीयको बुझाइ छ ।
षडानन्द क्याम्पस
भोजपुरको उत्तरी १६ गाविसमा उच्च शिक्षाको पहुँच थिएन । यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि निकै समस्या झेल्नु परेको थियो । स्थानीय शिक्षाप्रेमी समाजसेवीको अगुवाइमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६७ सालमा षडानन्द नामकरण गर्दै बहुमुखी क्याम्पस स्थापना गरे ।
हाल उक्त क्याम्पसमा भोजपुरका उत्तरी १६ गाविसका विद्यार्थी पढ्ने गर्छन् । शिक्षाको ज्योति फैलाउन सहयोग गरेको सम्झनामा शिक्षा क्षेत्रमा षडानन्दको नाम अमर राख्न त्यसो गरिएको शिक्षक श्रीकृष्ण बोगटीले बताए । १८९२ जन्म भई १९७३ मा स्वर्गारोहण भएका उनको योगदानलाई कदर गर्न सानो प्रयास गरिएको उनको भनाइ छ ।
षडानन्द पाठशाला
राणाहरूले सर्वसाधारणका लागि अध्ययन अध्यापनमा लगाएको बन्देज तोड्दै उनले स्थापना गरेको पहिलो भोजपुर दिङ्लाको षडानन्द संस्कृत पाठशाला हो । आजभन्दा एक सय ३७ वर्षअगाडि (विक्रम संवत् १९३२) नेपालको इतिहासमा विद्यालयको स्थापना गरिएको थियो । यो पाठशाला नेपालको इतिहासमा जनस्तरबाट पहिलोपटक खोलिएको हो ।
जनताका छोराछोरीलाई पढ्ने वातावरण सिर्जना गर्ने उद्देश्यले केउरेनी पानी- ७ दिङ्लामा त्यतिबेला विद्यालय स्थापना गरिएको थियो । त्यसबेला नागरिकका छोराछोरीलाई पढ्न बन्देज थियो । भोजपुर भन्नेबित्तिकै धेरैको मनमा षडानन्द अधिकारीको नाम आउँछ । षडानन्दसँगै पर्यायवाची बनेर आउने शब्द शिक्षा हो ।
राणाशासनको दबदबाका बीच भोजपुरको विकट क्षेत्रमा विद्यालय खोल्नु साहसी र चुनौतीपूर्ण काम थियो । तर, चुनौतीको पर्खाल भत्काउँदै षडानन्दले विद्यालय स्थापना गरे । शिक्षा क्षेत्रका प्रेरणाका स्रोत बनिरहेका षडानन्दले सञ्चालन गरेको पाठशाला अझै पनि सञ्चालित छ ।
जसले भोजपुरको मात्र नभएर पूर्वकै शिक्षा र चेतनालाई प्रतिविम्बित गर्छ । हुन त विसं. १९१० मा काठमाडौंमा दरबार हाइस्कुलको स्थापना गरिएको थियो । जुन दरबारियाका लागिमात्रै थियो । दरबार हाइस्कुल १९४० मा मात्र खुल्ला भयो भने भोजपुरको दिङ्लामा त्यसभन्दा आठ वर्षअगाडि देखि नै जनताका छोराछोरी पढ्न थालिसकेका थिए ।
गुठी सञ्चालन
भोजपुरमा षडानन्द सीताराम गुठी स्थापना गरिएको छ । गुठीका नाममा झन्डै १७ सय रोपनी जग्गा छ । पाठशालामा अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक खाद्यान्नको जोहोका लागि १९५५ मा यसको स्थापना भएको थियो । यस कुराले षडानन्दाको दूरदर्शितालाई दर्शाउँछ ।
विद्यार्थीका लागि गुठीबाट आएको धानले छात्रवृत्ति तथा खानाको व्यवस्था मिलाइएको थियो । एक विद्यार्थीलाई महिनामा १०-१२ पाथी धान दिने गरिएको स्थानीयवासीको भनाइ छ । यतिबेला षडानन्द संस्कृत पाठशाला षडानन्द उच्च माविमा परिणत भएर सञ्चालित छ ।
षडानन्द पुरस्कार
आबाल ब्रह्मचारी षडानन्दका नाममा राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ । षडानन्द प्रतिष्ठानले शैक्षिक संस्थालाई पुरस्कार दिने निर्णय साथ पुरस्कार कोष स्थापना गरेको हो । पुरस्कारको राशि ५० हजार तोकिएको छ ।
प्रतिष्ठानले षडानन्दको योगदान र शिक्षामा अथक योगदान पुर्‍याउने शैक्षिक संस्थालाई पुरस्कार उपलब्ध गराउने गरेको छ । यो पुरस्कार वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, प्रा.डा. सुरेशराज शर्मा, डा. स्वामी प्रपन्नाचार्य, साहित्यकार मदनमणि दीक्षित, प्राज्ञ ज्ञानमणि नेपाल र प्राध्यापक पुरुषोत्तम भट्टराईलगायतले प्राप्त गरिसकेका छन् । हरेक वर्ष दिइने पुरस्कार आठौं पटक प्रदान गरिसकिएको छ ।
षडानन्दलाई सम्झनकै लागि विभिन्न क्षेत्रको नामकरण गरिएको छ । १२ वर्ष कठोर तपस्या र २४ पटक गायत्री पुरश्चरण गरेको इतिहासमा उल्लेख छ ।
आध्यात्मिक जगतमा २४ पटक गायत्री पुरश्चरण गर्ने कार्य अद्वितीय र अतुलनीय मानिन्छ । २४ पटक गायत्री पुरश्चरण भनेको पाँच करोड ७६ लाख पटक गायत्री मन्त्र जप गर्नु हो । २४ पटक गायत्री पुरश्चरणले खारिएका र अष्टाङ्गयोगका ज्ञाता षडानन्द बालागुरुमा वाकसिद्धि थियो ।
विसं. १९३२ देखि २००७ सालसम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा ७५ वर्षसम्म बालागुरु षडानन्दको साहसका कारण दिङ्लाले पूर्वाञ्चलमा शिक्षाको उज्यालो देखाएको प्रष्ट हुन्छ । वि.सं. १९१० मा दरबार हाइस्कुल स्थापना भयो । वि.सं. १९३४ मा रानीपोखरी संस्कृत पाठशाला खोलियो । जनस्तरमा सामुदायिक विद्यालय सञ्चालन गर्ने यी महापुरुषलाई अहिलेसम्म राष्ट्रले चिन्न सकेको छैन ।
षडानन्द बालागुरुलाई राष्ट्रिय विभूतिको दर्जा दिइएको छैन । षडानन्दले मन्दिर र पाठशाला स्थापना गरी पुरुष, महिला सबैमा शिक्षा प्रदान गरे फलस्वरूप कुप्रथाका रूपमा रहेको सतीप्रथा हट्यो । सामुदायिक वनको अवधारणा ल्याइएका कारण दिङ्लाभन्ज्याङ वरपरको जंगललाई अहिले पनि जगेडाको वन भनिन्छ ।
बहुमूल्य जडीबुटी रुद्राक्ष दिङ्ला प्रवेश गराउने षडानन्द नै थिए । दिङ्लावासी र वरिपरिका मान्छे अहिले रुद्राक्ष रोपेर त्यसको व्यापारबाटै करोडौं आम्दानी गरिरहेका छन् । बालागुरु षडानन्दले विक्रम संवत् १९७३ सालमा काठमाडौंमा भौतिक शरीर त्याग गरेका थिए ।
आध्यात्मिक, शैक्षिक र लौकिक जागरण ल्याउने सन्तशिरोमणि श्री १०८ आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय सम्मान प्रदान गर्न सरकार संवेदनशील हुनुपर्ने देखिन्छ । २०५१ सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले सात रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरे पनि उहाँको उच्च सम्मान राज्यले गर्न सकेको छैन ।

अन्नपूर्ण पोष्ट दैनिकबाट साभार