पल र पूजाको जोडी

पल र पूजाको जोडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- ‘प्रेमगीत’ पछि निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ शीर्षकमा फिल्म बनाउने भएका छन्। निर्देशक थापाले शनिबार फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिकलाई चिनाउँदै माघ २१ बाट फिल्मको छायांकन थालिने जानकारी गराएका हुन्।

प्रेमकथा श्रेणीमा बन्न लागेको फिल्ममा निर्देशक थापाले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई जोडीको रुपमा प्रस्तुत गर्नेछन्। पल र पूजा पहिलोपटक जोडीको रुपमा आउन लागेका हुन्।

‘नाइँ नभन्नु ल ४’बाट डेब्यु गरेका अभिनेता पलले फिल्मको कथा सुनेर आफू सुटिङका लागि उत्साहित भएको बताए। उनले भने, ‘मैले कथा त पढिसकेको थिए“। तर, निर्देशकको मुखबाट सुन्दा झनै सुन्दर लाग्यो।’

अभिनेत्री पूजा शर्माले पनि आफ्नो भूमिका चुनौतीपूर्ण रहेको बताइन्। ‘फिल्मको कथा प्रेमकै सेरोफेरोमा छ। तर अलि फरक भूमिकामा देखिनेछु। दर्शकले मलाई चञ्चलसँगै गम्भीर युवतीको भूमिकामा पनि देख्न सक्नुहुनेछ,’ पूजाले भनिन्।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहनेछ। फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

फिल्मका मुख्य सहायक निर्देशक वसन्त अधिकारी र सहायक निर्देशक दिनेश खड्का हुन्। फिल्ममा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्ज्वल सुजल गिरी, नवीन मानन्धर, करुन लामा, मोहन निरौला लगायत कलाकारको अभिनय रहनेछ।
नागरिकबाट