मकालुकाे उडान पाकिस्तानी पाइलटले उडाउने

मकालुकाे उडान पाकिस्तानी पाइलटले उडाउने


काठमाडाैं – नेपाल वायु सेवा निगमको दोस्रो जहाज मकालुको पहिलो उडान भदौ १६ गतेबाट हुने भएको छ । जहाजलाई पाकिस्तानी पाइलटले उडाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायत विभिन्न निकायबाट पाइलटको स्वीकृति लिने काम भइरहेकाले नाम सार्वजनिक नगरिएको निगमको भनाइ छ ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले पहिलो उडानका लागि तयारी भइरहेको बताउँदै पहिलो उडान कुन देशमा गर्ने विषयमा टुङ्गो लागिनसकेको बताए । उनले जापान र कोरियाका लागि प्रक्रिया अघि बढाइएको बताउँदै केही दिनभित्रै टुङ्गो लाग्ने जानकारी दिए ।

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी एयरबस ए३३० ’मकालु’ विमान साउन १० गते काठमाडौं आइपुगेको थियो । निगमको पहिलो वाइडबडी विमान ’अन्नपूर्ण’ले कतारको दोहामा पहिलो व्यावसायिक उडान गरिसकेको छ ।

जहाजमा २७४ सिट छन् जसमा १८ ओटा बिजनेस र २५६ ओटा इकोनोमिक क्लासका छन् । लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस र २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन् ।

निगमले दुई ओटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले फ्रान्सको एएआर कम्पनीसँग गत बैशाखमा दुई ओटा वाइडबडी जहाज खरिदका लागि सम्झौता गरेको थियो ।