२४ औं दिनमा डा.गोविन्द केसीद्वारा अनसन स्थगित, आन्दोलन जारी राख्ने

२४ औं दिनमा डा.गोविन्द केसीद्वारा अनसन स्थगित, आन्दोलन जारी राख्ने


काठमाडौं – डा. गोविन्द केसीले एकतर्फी रूपमा अनशन तोडेका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी डा. केसीले अनशन तोडेको घोषणा गरेका हुन्।

उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनशन तोडाएका हुन्। उनले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीमा इमान र विश्वश्नीयताको खडेरी रहेको आरोप लगाए । उनले आफ्नो अनशन सरकारको बदनियतका कारण पुन अधुरो रहन गएको बताएका छन्।

उनले सुशासन र बाँकी कार्यभार पूरा गर्न निरन्तर र फरक रूपमा लड्ने प्रतिबद्धता समेत जनाएका छन्। आफूले अनशन जारी राख्दा बिरामीलाइ मर्का परेको तर माग पूरा गर्न राज्य संवेदनशील नभएकाले अनशन तोड्ने निर्णय गरेको डा. केसीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । २४ दिन पहिले उनले इलामबाट अनसन सुरु गरेका थिए । तर पछि स्वास्थ्यमा समस्या आएपछि रातारात काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएपछि पनि डा. केसीले त्रिवि शिक्षण अस्पतालमा नै अनशन जारी राखेका थिए ।

बिहिबार राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएपछि आफ्ना शुभेच्छुकको आग्रहमा डा. केसी अनशन तोड्न तयार भएका हुन्। संसदबाट पारित भएको विधेयकमा केही व्यक्तिलाई फाइदा भएपनि राज्य र जनताको हित हुने विषय तोडमोड गरिएको विज्ञप्तिमा उल्लेख छ। केसीकै मागमा चिकित्सा क्षेत्र सुधारका लागि कार्यदल बनाउन सरकार तयार भएको थियो। तर पछि माथेमा प्रतिवेदन कार्यन्वयन गर्न भने सरकारले आनाकानी र्गयो।

१५ औं अनशन तोडाउने क्रममा प्रधानमन्त्री केपी ओलीले आफूसँग सम्झौता गरेपनि त्यसलाई इमान्दारीताका साथ कार्यान्वयन नगरेको भन्दै डा.केसीले असन्तुष्टि पोखेका छन्। चिकित्सा शिक्षा क्षेत्रको नियामक निकाय नै राजनीतिक भर्ती केन्द्र बनाएकाले सुधारको आशा गर्ने ठाउँ नरहेको उनको विज्ञप्तिमा भनिएको छ।

२४ दिन पहिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा चिकित्सा शिक्षा विधेयक विधेयक पेश गरेपछि डा. केसीले अनशन सुरु गरेका थिए। आफ्नो अनशनका क्रममा साथ दिने इलामका जनता र सुधारको अभियानमा साथ दिने तथा ऐक्यवद्धता जनाउने सबैलाई डा. केसीले धन्यवाद दिएका छन्।