काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालको अन्तिमतिर नेपाली सेनाका लागि १ अर्ब बराबरको हतियार खरिद् प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । उनले नेपाली सेनाको शान्ति मिसनका लागि भन्दैं सिंगापुर, अमेरिका र इजरायलबाट ५ हजार ३ सय थान अत्याधुनिक हतियार खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन् ।
क्षेत्रीले सिंगापुरबाट सिंगापुर एसटी, अमेरिकाबाट एम—१६ र इजरायलबाट गलिल हतियार खरिदको प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन् । सैनिकस्रोतकाअनुसार ८७ करोडको एम—१६, ७ करोडको गलिल र ६ करोडको सिंगापुर एसटी किन्ने तयारी भइरहेको छ । नेपाली सेनासँग एम—१६ यसअघि नै रहेको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा माओवादी सशस्त्र युद्धका समयमा एम—१६ खरिद गरिएको थियो । यस्तै, पूर्व प्रधानसेनापति गौरव शमशेर राणाको पालामा इजरायलबाट ४० करोड बराबरको अत्याधुनिक गलिल र युद्ध सामाग्रीले सेनाले खरिद गरेको थियो । तर, सिंगापुर एसटी भने सेनाले पहिलो पटक भित्र्याउने तयारी थालेको हो । उक्त हतियार नेपाली सेनाका लागि कति उपयुक्त छ भन्ने विषयमा पनि खासै अध्ययन नभएको स्रोतको दाबी छ ।
नेपाली सेनाले अहिले शान्ति मिसनमा थप १० हजार जनशक्ति थप्ने भनेर लबिङ गरिरहेको छ । त्यसैका लागि भनेर सेनापति क्षेत्रीले ठूलो मात्रामा अत्याधुनिक हतियार खरिदको काम अगाडि बढाउने तयारी गरेका हुन् । ‘अहिले शान्ति मिसनका नाममा हतियार खरिद् गर्ने भनिएको छ, तर अवस्थामा त्यस्तो होइन्, अहिले नेपाली सेनालाई यति ठूलो हतियार आवश्यक छैन्,’ एक सैन्य विज्ञ भन्छन्, ‘नेपाली सेनासँग शान्ति मिसनका लागि चाहिने पुराना हतियार पनि छन् ।
सिंगापुर एसटी खरिदमा रोशन श्रेष्ठले हतियार एजेन्टका रुपमा काम गरिरहेका छन् । रोशन श्रेष्ठ तिनै ब्यक्ति हुन्, जो सँग प्रधानसेनापति क्षेत्रीका छोरा अभिषेक क्षेत्रीको निकट सम्बन्ध छ । स्रोतकाअनुसार रोशनसँग अभिषेक प्रोजेक्ट बेसमा हिडन बिजनेश पार्टनरका रुपमा काम गरिरहेका छन् । यसअघि नेपाली सेनाका विभिन्न निर्माण कार्यका सामाग्री आपूर्तिको ठेक्का पनि रोशनलाई नै दिइएको थियो । गलिल भित्र्याउनेमा एजेन्टका रुपमा किशोर श्रेष्ठ काम गरिरहेका छन् ।
विजनेश इन्टेष्टमैं क्षेत्रीले हतियार खरिदको तयारी थालेको आरोप पनि एकथरिले उनीमाथि लगाएका छन् । स्रोतकाअनुसार एकथरिले क्षेत्रीकै कार्यकालभित्र उक्त हतियार ल्याउनका लागि तीब्र लबिङ थालेकाले पनि आशंका माथि बल पुगेको हो ।
उसो त प्रधान सेनापति क्षेत्रीमाथि ब्यवसायिक सेनापति आरोप लाग्दैं आएको छ । उनीमाथि सेनाभित्र हुने निर्माण, हतियार, एमुनेशन र लजिष्ट्रिकजस्ता आर्थिक खरिदमा अनियमिताता हुने गरेको भन्दैं प्रश्न उठन थालेको छ । यसअघि क्षेत्रीकै पालामा नेपाली सेना नयाँ हेलिकप्टर समेत खरिद गरेको थियो ।
क्षेत्रीकै कार्यकालमा नेपाली सेनाले न्युरोडमा रहेको पुरातात्विक महत्वको हस्पिटल भत्काएर ब्यापारिक मल निर्माण अगाडि बढाएको थियो । यसैगरी, सडक निर्माण, द्रुतमार्गलगायतका निर्माणका कामहरु पनि सेनाले रुची राख्दैं आएको छ । जसका कारण क्षेत्रीमाथि ठेक्का पट्टा र नयाँ संरचना निर्माणमा आर्थिक लाभलाई केन्द्रमा राखेर काम गरेको भन्दैं ‘ब्यापारी प्रधानसेनापति’ बनेको आरोप लाग्ने गरेको छ ।
प्रधानसेनापति क्षेत्रीको आगामी २४ भदौंमा अवकास हुँदैंछ । उनी एक महिना अगाडि नै बिदा बस्ने परम्पराअनुसार २४ साउनदेखि बिदामा बस्दैछन् । बिदामा बस्न झण्डै ३ महिनाभन्दा कम समय बाँकी रहेका बेला क्षेत्रीले बढाएको हतियार खरिद प्रक्रियाप्रति अहिले नेपाली सेनाभित्रै प्रश्न उठन थालेको छ ।
प्रतिक्रिया